
काठमाडौं, १८ वैशाख– बन्द–हड्तालले जनजीवन प्रभावित हुने भन्दै सरकारले विभिन्न अत्यावश्यक क्षेत्रमा बन्द–हड्ताल गर्न बन्देज लगाएको छ ।
सबै प्रकारको यातायात सेवासहित १८ वटा अत्यावश्यक क्षेत्रमा बन्द–हडताल निषेध गरिएको हाे । सरकारले राजपत्रमा सूचना प्रकाशित गरी अत्यावश्यक क्षेत्रको सूची सार्वजनिक गरेको हो ।
यससँगै अब सबै प्रकारको यातायात सेवा (जल, स्थल र हवाईमार्ग) बन्द–हडतालमुक्त क्षेत्र बनेको छ । सार्वजनिक हितका लागि आवश्यक लागेमा सरकारले राजपत्रमा आदेश प्रकाशित गरी बन्द–हडताल निषेध गरिएको सेवा तोक्न सक्छ ।
आदेश प्रकाशित भइसकेपछि बन्द–हडतालमा भाग लिने व्यक्तिलाई ६ महिनासम्म कैद, २ सय रुपैयाँ जरिवाना तथा दुवै सजायसमेत हुन सक्ने प्रावधान छ ।
विमानस्थल, सञ्चार सेवा, पर्यटकीय सेवा, सुरक्षासम्बन्धी सेवा, स्वास्थ्य सेवा, पेट्रोलियम पदार्थ र दैनिक उपयोग्य वस्तु, फोहोरमैला व्यवस्थापन, बैँक बिमा पनि हडतालमुक्त घोषित भएको छ ।,नयाँ पत्रिकामा खबर छ ।
२५६२ औं बुद्धजयन्ती लुम्बिनीमा विशेष कार्याक्रम– २५६२ औं बुद्धजयन्ती लुम्बिनीमा विशेष कार्यक्रमको आयोजना गरी मनाईएको छ । कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतको उपस्थिती थियो ।
प्रधानमन्त्री ओलीसमेतको उपस्थितीमा ५ हजार मानिस अट्ने क्षमताको अत्याधुनिक सभाहलको राष्ट्रपति भण्डारीले शिलन्यास गरिन् । करिब ४० करोडको लागतमा बन्ने सभाहल दुई वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको लुम्बिनी विकास कोषले जनाएको छ ।
यो सभाहलको डिजाइन दक्षिण एशियामै नमूना भएको कोषको दाबी छ । बुद्धजयन्ती विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लुम्बिनीको विकासको लागि सरकार योजनाबद्ध ढंगले अगाडि बढेको बताए । कार्यक्रममा प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले लुम्बिनी परिसर बाहिरका नागरिकलाई लुम्बिनीसँग जोड्न आवश्यक रहेको बताए ।
काँग्रेस बैठक स्थगित– नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको निर्वाचित पदाधिकारीको सोमबार बोलाइएको बैठक स्थगित भएको छ । स्थगित बैठक आगामी वैशाख २१ गते दिउँसो २ बजे बस्ने काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बैठकबाट पदाधिकारी मनोनीत गर्ने पार्टी सभापति देउवाको तयारी थियो । तर, वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको असन्तुष्टिका कारण बैठक केही दिनका लागि स्थगित गरिएको हो ।
प्रगति विवरण बुझाउन उर्जा मन्त्रालयको निर्देशन– सरकारी तथा निजी क्षेत्रका निर्माणाधीन जलविद्युत् आयोजनाको प्रगति सन्तोषजनक नरहेको भन्दै सरोकारवाला संस्था तथा कम्पनीलाई १५ दिनभित्र विवरण बुझाउन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले निर्देशन दिएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले निर्माणाधीन तथा निर्माण चरणका जलविद्युत् आयोजनाको प्रगति विवरण बुझाउन निर्देशन दिएका हुन् । निर्देशनअनुसार प्राधिकरण, यसका सहायक कम्पनी तथा निजी क्षेत्रले १५ दिनभित्र विवरण पेस गर्नुपर्नेछ ।
मन्त्रालयले निर्देशन दिएपछि प्राधिकरणले पनि निजी क्षेत्रका आयोजनाको प्रगति विवरण माग्न शुरु गरेको छ । प्राधिकरणले सोमवार सूचना जारी गर्दै तोकेको अवधिभित्रै विवरण बुझाउन आग्रह गरेको छ ।
दुई विधेयकको मस्यौदा स्वीकृत– कर्णाली प्रदेश सरकारले दुई विधेयकको मस्यौदा स्वीकृत गरेको छ । सुर्खेतको वीरेन्द्रनगरमा सोमवार बसेको कर्णाली प्रदेश मन्त्रिपरिषद्को बैठकले मन्त्री र स्थानीय तहका जनप्रतिनिधिको सुविधासम्बन्धी दुई विधेयकको मस्यौदा स्वीकृत गरेको हो ।
बैठकले कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ र कर्णाली प्रदेश स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधासम्बन्धी विधेयक, २०७५ को मस्यौदा स्वीकृत गरी प्रदेशसभामा पेश गर्न आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई सहमति प्रदान गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले जानकारी दिइन् ।
प्रहरी उपरीक्षकको सरुवा– प्रहरी प्रधान कार्यालय नक्सालले सात एसपीको सरुवा गरेको छ । साढे ३३ किलो सुन काण्डमा प्रहरी उपरीक्षक विकासराज खनाल पक्राउ परेपछि उनको ठाउँ मकवानपुरमा लोकेन्द्र श्रेष्ठलाई पठाइएको छ ।
यस्तै राजन अधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धानबाट सुनसरी जिल्ला प्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ । केन्द्रिय अनुसन्धान व्यूरोका जीवन श्रेष्ठलाई सिरहा पठाइएको छ भने कञ्चनपुरका एसपी दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षकको सचिवालयमा ल्याइएको छ ।
त्यस्तै महानगरिय ट्राफिक प्रहरी कार्यालयबाट डम्बर विकलाई जिल्ला प्रहरी कार्यलय धादिङ्ग सरुवा गरिएको छ भने सिरहामा कार्यरत शेखर कोइरालालाई ट्राफिक निर्देशानालय ल्याइएको छ । धादिङ्ग जिल्ला प्रहरी कार्यलयबाट ध्रुव राउतलाई अनुसन्धान विभागमा काज सरुवा गरिएको छ ।
एसएसपी लोहनीसँग बयान लिने तयारी– गत माघ पहिलो साता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्र्याएर बेपत्ता भएको भनिएको तस्करीको ३३ किलो सुन प्रकरणमा नेपाल प्रहरीका बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दिवेश लोहनी पनि बयानका लागि बोलाइएका छन् ।
३३ किलो सुन प्रकरण र सुन प्रकरणसँगै जोडिएको मोरङका सनम शाक्य हत्याकाण्डको छानविनका लागि गठित गृह मन्त्रालयको समितिले एसएसपी लोहनीलाई बयानका लागि पत्र काटेको हो । लोहनीलाई बयानका लागि आइतवार पत्र काटिएको स्रोतले जनाएको छ ।
लोहनी बयान दिन बुधवार जिल्ला प्रहरी कार्यालय मोरङ पुग्नेछन् । ३३ किलो सुन प्रकरण र सनम शाक्य हत्याकाण्ड छानविनका लागि ठगित गृह मन्त्रालयको टोली अहिले मोरङमा छ ।
शव लुकाउन २ करोडको बार्गेनिङ– ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्यको हत्यामा बहालवाला डीएसपी प्रजित केसीको संलग्नता पुष्टी भएपछि मुद्दा चलाउने तयारी गरिएको छ ।
गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडलको नेतृत्वमा गठन भएको छानबिन समितिले डीएसपी केसीलाई पक्राउ गरी अनुसन्धान गर्ने क्रममा उनको पनि संलग्नता देखिएपछि आइतबार प्रहरीले मोरङ अदालतमा कर्तव्य ज्यान, अपहरण र संगठित अपराध मुद्दामा ३ दिनको म्याद थप गरिएको हो ।
स्रोतका अनुसार केसीले सनमको शव बेपत्ता पारिदिने भन्दै २ करोडमा बार्गेनिङ गरेका थिए । अनुसन्धानका लागि केसीलाई शुक्रबार जिप्रका मोरङ ल्याइएको थियो । डीएसपी केसीकै नेतृत्वमा अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले शाक्यको शव मोरङमा बरामद गरेको थियो ।
सोही अनुसन्धानमा चलखेल भएपछि गृहले सहसचिवको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो । मोरङ प्रहरीको हिरासतमा २८ जना रहेका छन्, जसमा ६ जना प्रहरी अधिकारी छन् ।, नेपाल समाचारपत्रमा छ ।
सञ्चयकोषको साँवाब्याज नियमित गर्न आग्रह– कर्मचारी सञ्चय कोषले नियमितरुपमा बुझाउनुपर्ने साँवाब्याज समयमा बुझाउन सञ्चयकर्तालाई आग्रह गरेको छ । घर सापटी, सरल कर्जा, शैक्षिक ऋण, घरमर्मत सापटीका लागि सञ्चयकोषले दिएको ऋणको साँवाब्याज समयमा नबुझाउँदा कोषको वार्षिक नाफामा समेत असर परेको भन्दै त्यस्तो आग्रह गरेको हो ।
प्रत्येक सञ्चयकर्ताको घर हुनुपर्छ भन्ने आशयका साथ ऋण प्रवाह गरिएको र त्यसको भरपूर उपयोग गरुन् भन्ने कोषको मनसाय भएको कोषका शाखा प्रमुख अर्जुनप्रसाद उपाध्ययले जानकारी दिए ।
आक्रमणमा परी ८ पत्रकार सहित २९ जनाको मृत्यु– अफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको आत्मघाती हमलामा ८ जना पत्रकारहरुसहित २९ जना मारिएका छन् । मारिनेमा एएफपीका एक वरिष्ठ फोटो पत्रकार पनि छन् ।
अमेरिकी दूतावास र अफगान सरकारका कार्यालयहरु भएको स्थानमा भएको बिस्फोटपछि पत्रकारहरु उक्त स्थानमा थुप्रिएका थिए । केहीबेरमा तिनै पत्रकार र क्यामराम्यानहरुलाई लक्षित गरेर अर्को आक्रमण गरिएको थियो ।
घटनामा एक महिला पत्रकारसहित ८ पत्रका मारिएका हुन् ।
माइभ्याली गोल्डकपको उपाधि थ्रीस्टारलाई– इलाममा आयोजित चौथो अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप फुटबल प्रतियोगिताको उपाधि थ्रीस्टार क्लबल ललितपुरले जितेको छ । सोमवार भएको फाइनलमा मनाङ मस्र्याङ्दी क्लब काठमाडौँलाई अतिरिक्त समयमा १–० गोलको संघर्षपूर्ण जीत निकाल्दै थ्रीस्टारले उपाधि चुमेको हो ।
निर्धारित समयमा गोलरहित बराबरीमा खेल टुङ्गिएपछि अतिरिक्त समयतर्फ धकेलिएको थियो । अतिरिक्त समयको तेस्रो मिनेटमा थ्रीस्टारका सुनिल बलले गोल गरी टोलीलाई उपाधि दिलाए । जीतसँगै थ्रीस्टारले रु छ लाख ६६ हजार ६६६ र ट्रफी पायो ।
यही वैशाख ६ गतेदेखि शुरु भएको प्रतियोगितामा तीन विदेशीसहित नेपालका ‘ए’ डिभिजन क्लब र विभागीय गरी १२ टोलीको सहभागिता थियो ।