
काठमाडौं, २१ वैशाख – विगत केही वर्षयता महिलाको फेशन बदलिरहेको छ ।
साँघुरो कोर्सेटदेखि लिएर फ्लेयर्ड ड्रेससम्म अनि मेकअपमा पनि धेरै कुरा परिवर्तन भइसकेको छ । आजकल महिलाहरूले ट्राउजर लगाउनु सामान्य कुरा हो । अहिले त महिलाहरू धेरैजसो जीन्स र ट्राउजरमा नै भेटिन्छन् ।
यी सकारात्मक परिवर्तन भएपनि महिलाको वस्त्रमा एउटा गतिलो गोजी किन नराखिएको होला ?
केही दिनअघि अमेरिकी लेखिका हीदर केजीन्स्कीले एउटा ट्वीट लेखेर गोजीको मुद्दा उठाइन् ।
उनले लेखिन्, ‘हे भगवान्, मेरी तीनवर्षीया छोरी ड्रेसमा पकेट नभएका कारण रिसाएकी छन् । उनी धेरै कुरा आफूसँग राख्न चाहन्छिन् । कृपया महिलाको लागि पनि पकेट बनाइयोस् ।’
उनको यो ट्वीटमाथि धेरैजनाले टिप्पणी गर्दै लेखे, बजारमा भएका कैयौं कपडा पुरुष र महिलाले समान रूपमा लगाउन सक्छन् र तिनमा गोजी पनि हुन्छ । तर धेरै मानिसहरूले महिलाको कपडामा गोजी नहुनु एक समस्या भएको र
बच्चालाई मात्र नभई वयस्कलाई पनि यसले सताएको बताए ।
महिलाको कपडामा राखिएका गोजी प्रायः जसो देखावटी मात्र हुन्छन् । यसले कपडालाई सुन्दर बनाउँछ ।
पछि हीदरले ट्वीट डिलिट गरिन् अनि अर्को ट्वीट गरिन्, ‘कुरा गोजीको मात्र होइन । म अन्य धेरै कुराका विषयमा चिन्तित छु । मेरो बच्चा । बदलिरहेको मौसम । जातिभेद । नेट न्युट्रालिटी । अमेरिकी गणराज्य । स्कूल फन्ड...’
हीदरको पोस्टले धेरै मानिसलाई झक्झक्यायो । कपडामा राम्रो पकेटको कमीका कारण महिलाको जीवनमा समस्या बढिरहेको छ ।
महिलाको मुद्दामा काम गर्ने क्यारोलिन क्रियाडो पेरेजले पनि सन् २०१६ मा यो मुद्दा उठाएकी थिइन् ।
आधुनिक फेशनमा महिलाको कपडामा पकेटको कमी देखिएपनि विश्वयुद्धका बेलामा महिलाको कपडामा गोजी हुन्थ्यो ।
ती गोजी ठूला हुनाले जे सामान पनि सजिलै राख्न सकिन्थ्यो ।
युद्धपछि महिलाको ड्रेस रेन्जमा ठूलो परिवर्तन आयो र स्कर्टको चलन बढ्यो । अनि बिस्तारै पकेटको चलन कम भयो ।
सन् १९५४ मा क्रिस्टिन डियोरले पुरुषको कपडामा पकेट सामान राख्नका लागि अनि महिलाको गोजी सजावटका लागि राखिने बताइन् ।
बिस्तारै पकेटको चलन महिलाको कपडाबाट हराउँदै गयो र त्यसको आकार घट्दै गयो । त्यतिखेरै झोलाको चलन चल्न थाल्यो ।
तर सन् २०१० देखि महिलाहरूले स्मार्टफोन र क्रेडिट कार्ड राख्नका लागि पकेटको आवश्यकता अनुभव गरेका छन् । महिलाको कपडामा पनि गोजी हुनुपर्ने माग उठिरहेका छन् ।
बीबीसीबाट