
काठमाडौं, २१ वैशाख – प्रख्यात नोबेल पुरस्कार वितरण गर्ने संस्था स्विडिश एकेडमीले यो वर्ष साहित्यतर्फको नोबेल पुरस्कार नदिने घोषणा गरेको छ । यसको साटो अर्को वर्ष दुईवटा पुरस्कार दिइने उसले बताएको छ ।
स्विडिश एकेडमीमा एक व्यक्तिविरुद्ध यौन दुर्व्यवहारको आरोप लागेपछि उठेको विवादका कारण यो निर्णय लिइएको हो । विवादका कारण निकै आलोचना खेपेको एकेडमीले शुक्रवार बिहान सन् २०१८ का लागि नोबेल साहित्य पुरस्कार नदिइने घोषणा गरेको हो ।
सन् २०१९ मा साहित्यतर्फका दुई विजेताको नाम एकैचोटि घोषणा गरिनेछ ।
एकेडमी सदस्य तथा कवयित्री काटरिना फ्रोस्टेन्सनका पति फ्रान्सेली फोटोग्राफर जाँ–क्लाउड अर्नाउविरुद्ध यौन आक्रमणका अनेकौं आरोप लागेपछि बिहीवार बसेको बैठकले साहित्यतर्फको पुरस्कार नदिने घोषणा गरेको हो ।
एजेन्सी