
काठमाडौं, २२ वैशाख– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्य पक्राउ परेका छन् ।
सरकारले यातायात क्षेत्रमा जारी सिन्डिकेट प्रथा खारेज गर्ने निर्णयविरुद्ध आन्दोलन चर्काएको भन्दै प्रहरीले कर्माचार्यलाई काठमाडौंको बानेश्वरबाट पक्राउ गरेको हो ।
प्रहरीले महासंघका अध्यक्ष कर्मचारसहित वरिष्ठ उपाध्यक्ष बिजय स्वाँर, उपमहासचिव वसन्त भण्डारी, कोषाध्यक्ष किरण खड्कासहित पाँचजनालार्इ पक्राउ गरेको हो ।
पक्राउ परेका पाँचैजनालाई महानगरीय प्रहरी बृत्त नयाँ बानेश्वरमा राखिएको छ ।
सिन्डिकेट पक्षधर व्यवसायीले शुक्रवार देशभर सार्वजनिक यातायत ठप्प पारेपछि गृहमन्त्री रामबहादुर थापा बादलले यातायात संघ र समितिका पदाधिकारीसहित सिन्डकेट पक्षधर यातायात व्यवसायीलाई पक्राउ गर्न निर्देशन दिएका थिए ।
केही ठाउँमा भने पक्राउ परेका यातायात व्यवसायी रिहा समेत भएका छन् । आगामी दिनमा सिन्डिकेटका पक्षमा कुनै आन्दोलन नगर्ने र राज्यले जारी गर्ने हरेक कानून पालना गर्ने लिखित प्रतिबद्धता जनाएपछि पक्राउ परेकाहरुलाई रिहा गर्न लागिएको गृह मन्त्रालयले जनाएको छ ।