
काठमाडौं, २६ बैशाख- फौजदारी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका सांसदलाई निलम्बनको व्यवस्था थप गर्न माग गर्दै नेकपा एमालेले प्रतिनिधिसभा नियमावली मस्यौदामाथि संशोधन दर्ता गरेको छ ।
संसदीय दलका पदाधिकारी तथा मस्यौदा समिति सभापतिसँग परामर्शपछि एमालेका तीन जना सांसदले नियमावलीमाथि संशोधन दर्ता गराएका हुन् ।
एमालेका सांसदत्रय भैरवबहादुर सिंह, नरबहादुर धामी र दामोदर भण्डारीले नियमावलीमा संशोधन दर्ता गराएका हुन् ।
ओलीको ट्वीटपछि प्रचण्ड
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमवार गरेको एक ट्वीटप्रति सत्ता साझेदार दल मााओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गम्भीर चासो व्यक्त गरेका छन् ।
संसदीय दलको कार्यालय सिंहदरबारमा मंगलवार बसेको संसदीय दलको बैठकमा अध्यक्ष प्रचण्डले ओलीको ट्वीटको प्रसंग निकालेका थिए । ‘ओलीको ट्वीटको कुरा मैले पनि सुनेँ, त्यो उहाँको आधिकारिक धारण हो कि होइन बुझ्नु छ, यदि आधिकारिक हो भने चिज गम्भीर छ भनेर बुझ्नु पर्छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै एक सांसदले लोकान्तरसँग भने ।
‘एउटै घोषणापत्र लिएर चुनावमा गएको पार्टीसँग बजेट निर्माणबारे कुनै छलफल छैन, सचिव सरुवामा छलफल नै छैन,’ प्रचण्डले भने, ‘दुई पार्टी एक हुन लागेको समयमा यसरी हुन्छ ? ट्वीटरमा के–के लेखेको पनि सुनेँ, अब यस विषयमा गम्भीर कुरा हुन्छ,’ प्रचण्डले भनेका थिए ।
प्रचण्डले बजेट निर्माणमा पनि आफूहरूलाई उपेक्षा गर्न खोजिएको आरोप लगाए । ‘संघीयतालाई फोकस गरेर बजेट ल्याऔँ भन्ने हाम्रो प्रस्ताव छ । तर हामीसँग परामर्श नगरी बजेट ल्याउने कोसिस हुँदैछ,’ प्रचण्डले एमालेको भूमिकाप्रति आशंका गर्दै भने, ‘हामी एकताका लागि इमान्दार छौँ, तर झुकेरचाहिँ एकता हुँदैन ।’ ट्वीट प्रकरणसँगै एमाले र माओवादीबीच खटपट भएको बुझिएको छ ।
प्रधानमन्त्रीद्वारा छलफल
प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वपराराष्ट्र मन्त्री तथा वरिष्ठ राजनीतिक व्यक्तित्वसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका सम्बन्धमा छलफल गरेका छन् ।
प्रधानमन्त्रीले ओलीले भारत भ्रमणको क्रममा आफूले पहिलो दिनको भेटमै भारतीय समकक्षीसँग सुझाएको मितिमै उनको नेपाल भ्रमण हुन लागेको जानकारी गराएको प्रधानमन्त्रीको निजी सविचालयले जनाएको छ ।
सो अवसरमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय प्रधानमन्त्रीको राजकीय भ्रमणका अवसरमा आयोजना गरिने कार्यक्रमका बारेमा अवगत गराएका थिए ।
छलफलका क्रममा पूर्वप्रधानमन्त्री तथा पूर्वपराराष्ट्रमन्त्री माधवकुमार नेपालले भारतले सीमा क्षेत्रमा बनाएका बाँधहरुका कारण हरेक वर्ष नेपालमा डुबान हुने समस्याका सम्बन्धमा भारतीय पक्षले संवेदनशीलता अपनाउनुपर्नेमा जोड दिएका थिए ।
पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, महेन्द्रबहादुर पाण्डे, डा भेषबहादुर थापा तथा पूर्वरक्षामन्त्री भीमबहादुर रावल, राष्ट्रिय जनता पार्टी नेपालका संयोजक महन्थ ठाकुरले भारतका तर्फबाट गरिएका प्रतिबद्धता पूरा गरिनुपर्ने धारणा व्यक्त गरेका थिए ।
यसअघि प्रधानमन्त्रीले पूर्वप्रधानमन्त्री र सरोकारवालाहरुसँग पनि छलफल गरेका थिए ।
प्रमद्वारा डा देवकोटाको स्वास्थ्य लाभको कामना
प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटाको स्वास्थ्यलाभको कामना गरेका छन् ।
प्रधानमन्त्री ओलीले मंगलबार डा देवकोटाको उपचार भइरहेको न्यूरो अस्पतालमा पुगेर उनको स्वास्थ्यलाभको कामना गरेका हुन् । पित्त थैलीको क्यान्सर रोगले चलिएका डा देवकोटा न्यूरो अस्पतालमा स्वास्थ्यलाभ गरिरहेका छन् ।
कल बाइपास गर्ने दुई पक्राउ
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले कल बाइपास (भिओआइपी) सञ्चालन गर्ने दुई जनालाई पक्राउ गरेको छ ।
ब्यूरोको टोलीले काठमाडौँ महानगरपालिका–९ विमानस्थल द्वार नजिकैको स्टार गेज होटल र कागेश्वरी मनहरा–७ शान्तिद्वीपस्थित भोलाराज गौतमको घरमा अवैध रुपमा अन्तर्रा्ष्ट्रिय कल बाइपास गर्दै गरेको अवस्थामा भारतीय नागरिक विवेक शुक्ला र सिन्धुलीका लालबहादुर मगरातीलाई सोमबार पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो ।
प्रहरीले उनीहरुसँग ३२ पोर्टको भिओआइपी गेटवे एक थान, कालो १६ पोर्टको भिओआइपी गेटवे एक थान, निलो १६ पोर्टको भिओआइपी गेटवे एक थान, चार्जर एक थान, राउटर तीन थान, मोबाइल सेट चार थान र झोला दुई थान बरामद गरेको छ ।
ब्यूरोले हालसम्म अवैध कल बाइपास गर्ने १५८ स्वदेशी तथा विदेशीलाई पक्राउ गरिसकेको र २२ हजार ७१३ थान सिमकार्ड बरामद गरेको छ । पक्राउ परेका दुईजनालाई दुरसञ्चार ऐन, २०५३ अन्तर्गत अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।
धर्म गुरु आचार्यमाथि मुद्धा दर्ता
धर्म गुरु श्रीनिवास आचार्यमाथि जिल्ला प्रहरी कार्यालय मोरङले हातहतियार तथा खरखजानाअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरेको छ ।
आफैंलाई गोली हान्न लगाएको आरोपमा पक्राउ परेका आचार्यमाथि अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय मोरङबाट मंगलबार १० दिनको म्याद थप गरिएको प्रहरी उपरीक्षक अरुणकुमार विसीले जानकारी दिए ।
सोमबार प्रहरीले काठमाडौंमा पक्राउ गरी आचार्यलाई विराटनगर ल्याइएको हो ।
आचार्यलाई गोली हान्ने उनकै अंगरक्षक चितवन भरतपुर नगरपालिका बेलचौंकका माधव जोशी र नवलपरासी गैंडाकोटका लक्ष्मीराज अधिकारीलाई पक्राउ गरी कर्तव्य ज्यानअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको छ ।
विराटनगर–१४ को जतुवास्थित रामजानकी मन्दिरमा कथा वाचन गर्न आएका बेला गत चैत २५ गते गोली प्रहारबाट घाइते भएका आचार्यको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भएको थियो ।
सुन तस्करी र हत्याका आरोपीसँग बयान सकियो
साढे तेत्तीस किलो सुन तस्करी र सनम शाक्यको हत्याको प्रकरणमा पक्राउमा परेका ३० जनाको बयान मंगलबार सकिएको छ ।
सो प्रकरणमा गत बुधबार ६३ जनामाथि जिल्ला प्रहरी कार्यालयद्वारा मुद्धा दर्ता भएकामा पक्राउमा परेका ३० जनाको क्रमिक रुपमा बयान लिने क्रम सकिएको हो ।
बुधबार कानून दिवस भएकाले बिहीबारदेखि आरोपीविरुद्ध थुनछेकको बहस शुरु हुने छ ।
ऊर्जाको श्वेतपत्र
सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाल’ भन्ने नारालाई साकार पार्ने लक्ष्यका साथ २०७५ देखि ८५ सम्मलाई ‘ऊर्जा तथा जलस्रोत दशक’को रुपमा अगाडि बढाउने भएको छ ।
ऊर्जा उत्पादनलाई रणनीतिक रुपमा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रुपमा अगाडि बढाउने लक्ष्यका साथ ऊर्जा दशकको अवधारणा अगाडि सारिएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रको वर्तमान अवस्था र भावी मार्गचित्र सार्वजनिक गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले ऊर्जा क्षेत्रको रणनीतिक विकासका लागि सरकारले योजनाबद्ध रुपमा अभियान शुरु गरेको जानकारी दिए ।
मन्त्री पुनले सार्वजनिक गरको श्वेतपत्रमा निर्माणाधीन आयोजनालाई तोकिएको समयमा पूरा गराउने, विद्युत् खपत बढाउने तथा एकीकृत जलस्रोत नीतिमार्फत जलस्रोतको समग्र विकासमा ध्यान दिनेलगायत ८१ बुँदा समेटिएका छन् ।
दुई दिनका लागि मुक्तिनाथमा वैकल्पिक मार्ग
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ दर्शन भ्रमण कार्यक्रमलाई सुरक्षित एवं भरपर्दो बनाउने र तीर्थयात्री एवं पर्यटकको सहजताका लागि यही वैशाख २८ गते अपराह्न ४ बजेदेखि २९ गते मध्याह्न १२ बजेसम्म मुक्तिनाथ परिसर क्षेत्रमा प्रवेशमा रोक लगाउने निर्णय गरेको छ ।
जिल्ला सुरक्षा समिति मुस्ताङको बैठकले मनाङबाट थोराङपास हुँदै मुस्ताङ र मुस्ताङबाट मनाङ आउने जाने पदयात्रीको पदयात्रालाई नियमित तथा सूचारु गर्न मुक्तिनाथ मन्दिर परिसर क्षेत्र बाहिरको बैकल्पिक बाटो तय गरेको छ । प्रमुख जिल्ला अधिकारी शिशिरराज पौडेलका अनुसार वैशाख २८ र २९ गते पदयात्रीका लागि छेन्गुर, झोङ, पुटाक हुँदै कागबेनीको बाटो तय गरिएको छ ।
मोदीको स्वागतमा अनिवार्य उपस्थितिको निर्देशन
जनकपुरधाममा आसन्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको दिन उनको स्वागतमा उपस्थित हुन महोत्तरीका प्रत्येक नगरपालिका र गाउँपालिकाका प्रमुखलाई प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले निर्देशन दिएका छन् ।
मन्त्री यादवले महोत्तरीका १० नगरपालिका र ५ गाउँपालिका गरी १५ वटै स्थानीय तहका प्रमुखलाई वैशाख २८ गते मोदीको स्वागतका लागि जनकपुर आउन निर्देशन दिएका हुन् ।
सी र किमबीच दालिअनमा भेटवार्ता
चीनका राष्ट्रपति सी चिन फिङ र उत्तर कोरियाली नेता किम जोङ अनबीच चीनको उत्तरपूर्वी राज्य लिआओनिङमा यही सोमबार र मङ्गलबार भेटवार्ता भएको छ ।
कोरियाली प्रायद्वीपमा लामो समयदेखि देखिएको तनाव र उत्तर कोरियाको आणविक हतियार परीक्षणपछि अमेरिकालगायत अन्तर्रा्ष्ट्रियस्तरमा देखिएको तनाव अन्त्य गर्ने प्रयासस्वरूप उत्तर कोरियाली नेता किम र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच हुन लागेको शिखर सम्मेलनको पूर्वसन्ध्यामा भएको दुई कम्युनिष्ट नेताबीचको भेटलाई विशेष महत्वका साथ लिइएको छ ।
चीनले मध्यस्थता वासिङ्टनलाई वार्तामा ल्याउन मध्यस्थता गरिरहेको भन्ने खबरहरू सञ्चारमाध्यममा आइरहेका समय भएको भेटमा किमले अमेरिकी राष्ट्रपति ट्रम्पसँगको वार्ताका लागि सरसल्लाह गरेको बताइएको छ ।