
ललितपुर, २६ वैशाख-शहरी वातावरण व्यवस्थापन समाज (युम्स्)ले इँटा उद्योगमा कार्यरत कामदारका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ । ललितपुरको गोदावरीस्थित सन्तानेश्वर इँटा उद्योगमा सञ्चालन गरेको बेटर ब्रिक–नेपाल परियोजनाअन्तर्गत ३२ जना बालबालिकालाई सामग्री हस्तान्तरण गरिएको हो ।
नवज्योति माध्यमिक विद्यालय, गोदावरीका प्रधानाध्यापक हरिहर लामिछाने र इँटा उद्योगी रामकृष्ण कोजुले संयुक्तरूपमा सामग्रीहरू हस्तान्तरण गरेका हुन् । इँटा उद्योग नजिकै रहेका विद्यालयले इँटा उद्योगबाट विद्यालय आउने बालबालिकालाई भेदभाव नहोस् भन्ने कुरामा विशेष ध्यान दिने प्रअ लामिछानेको भनाइ थियो । बेटर ब्रिक परियोजनाले विद्यालय र इँटा उद्योगका कामदारबीच सहजकर्ताको भूमिका खेलेकोमा धन्यवाद व्यक्त गर्दै लामिछानेले आफूहरू कामदारका बालबालिकालाई भेदभाव नहोस् भन्नेमा सचेत रहेको उल्लेख गरे ।
अभिभावक लालमाया आलेले बालबालिकालाई शैक्षिक सामग्री प्रदान गरिएकोमा खुशी व्यक्त गर्दै यसबाट बालबालिकाहरू पनि उत्साहित भएको बताइन् । कापी, कलम, सिसाकलम, क्याल्कुलेटर, मसी, चित्रकलाका लागि आवश्यक रङ, जुत्ता आदिका साथै किताब राख्ने झोलासहितका शैक्षिक सामग्री हस्तान्तरण पछि बालबालिकाहरू प्रसन्न देखिन्थे ।
बेटर ब्रिक–नेपालकी कार्यक्रम संयोजक निर्मला केसीले कामदार मैत्री उद्योग, उद्योग-व्यवसाय मैत्री नीति र स्थानीय शासनका लागि परियोजना लागिपरेको बताउँदै करोडौँ लगानी गरेर लाखौँ कामदारलाई स्वदेशमै रोजगारी प्रदान गरिरहेका इँटा उद्योगलाई 'भट्टा'को नामले मात्र चिनिने गरेको गुनासो व्यक्त गरिन् ।
आइएलओ महासन्धि अनुरूप कामदारको अधिकार सुनिश्चित गर्दै उद्योगलाई व्यवस्थित र सम्मानित तथा बालमैत्री बनाउनु परियोजनाको उद्धेश्य रहेकोमा संयोजक केसीको जोड थियो ।