काठमाडौं, २८ वैशाख – अमेरिकाले पाकिस्तानी कूटनीतिज्ञहरूलाई यात्रा प्रतिबन्ध लगाएपछि पाकिस्तानले पनि यस्तै किसिमको प्रतिबन्ध अमेरिकी कूटनीतिज्ञहरूमाथि लगाउन विचार गरेको छ । अमेरिकाले लगाएको प्रतिबन्ध शुक्रवारदेखि लागू भएको छ ।
डन न्युजका अनुसार, सरकारले इस्लामाबादमा तैनाथ अमेरिकी कूटनीतिज्ञहरूमाथि प्रतिबन्धको योजना बनाइरहेको छ । अमेरिकीहरूलाई पहिलेदेखि नै संघीय प्रशासित जनजाति क्षेत्र (फाटा) जस्ता सुरक्षा व्यवस्था कडा भएका ठाउँ जान प्रतिबन्ध लगाइएको छ ।
अघिल्लो महिना अमेरिकामा पाकिस्तानी कूटनीतिज्ञहरूलाई वाशिङटनस्थित दूतावास वा अन्य शहरका वाणिज्य दूतावासको ४० किलोमिटरभन्दा टाढा जान प्रतिबन्ध लगाइएको थियो ।
न्युजर्सीबाट अमेरिकी कंग्रेसम्यान डोनल्ड नोरक्रसले भने, ‘महत्त्वपूर्ण कुरा संवाद हो र हामीले यस्ता प्रतिबन्ध लगाएर संवादलाई समाप्त गरेका छौं । यो सही निर्णय हैन ।’
अमेरिकामा लागि पाकिस्तानका राजदूत एजाज चौधरीले बिहीवार भोइस अफ अमेरिकासँग कुरा गर्दा यो गलत निर्णय भएको बताए ।
एजेन्सी