
काठमाडौं, २८ वैशाख – मे महिनाको सात र आठ तारिखमा चीनको दालियान विमानस्थलमा रहेको उत्तर कोरियाको रहस्यमयी विमानका सम्बन्धमा अनेकौं अनुमान भइरहेका थिए ।
अन्तिममा पो थाहा भयो यो विमान किम जोङ–उनको थियो । उनी चीनका राष्ट्रपति सी चिनफिङसँग भेटघाट गर्न यो तटीय शहर पुगेका थिए ।
दुवै नेताहरूको भेटघाट त चर्चामा रहने नै भयो, किमको यो विमानले पनि उत्तिकै चर्चा पायो ।
हालैका महिनामा किमका अन्तर्राष्ट्रिय गतिविधिहरूको संख्या बढ्दै जाँदा उनको यात्रासाधनका बारेमा जान्ने अवसर प्राप्त भएको छ । किमले प्रत्येक यात्रापिच्छे नयाँ नयाँ यातायात साधन प्रयोग गर्ने गरेका छन् ।
किमले पछिल्लोपटक गरेको चीन भ्रमण उनले सत्ता लिएपछिको पहिलो आधिकारिक अन्तर्राष्ट्रिय उडानका रूपमा हेरिएको छ । तर मिडिया रिपोर्टहरूका अनुसार, किमले उत्तर कोरियाभित्र आफ्नो निजी जेटको प्रयोग पहिले पनि
गरिसकेका छन् ।
यो विमान द इल्यूशिन–६२ हो । सेतो विमानको बाहिरी भागमा दुवैतर्फ कोरियाली भाषामा ठूलो अक्षरमा उत्तर कोरिया लेखिएको छ अनि राष्ट्रिय झण्डा पनि बनेको छ । विमानको पछिल्लो भागमा नीलो र रातो घेराको बीचमा रातो
रंगको एउटा तारा बनेको छ ।
विमानभित्र अत्याधुनिक सुविधाहरू छन् । यही विमान चढेर फेब्रुअरीमा किमकी बहिनी किम यो जोङ दक्षिण कोरिया गएकी थिइन् ।
किमका पिता किम जोङ इल र हजुरबुवा किम इल सुङ हवाईयात्रा गर्दैनथिए । उनीहरूलाई हवाईयात्रा गर्न डर लाग्ने बताइन्थ्यो ।
किमले मार्च महिनामा चीनको यात्रा गर्दा एक खास ट्रेनमा पुगेका थिए । यही ट्रेनमा उनका पिता मृत्युअघि विदेशयात्राहरूमा प्रयोग गर्ने गर्थे भनिन्छ ।
सन् २००९ मा एक दक्षिण कोरियाली समाचारपत्र द चोसन इल्बोले लेखेअनुसार, किमको यो ट्रेनमा ९० बोगी छन् । त्यसमा कन्फेरेन्स रूम, अडियन्स चेम्बर, बेडरूम र स्याटेलाइट फोन टीभी कनेक्सन पनि छ ।
उत्तर कोरियाको एक रिपोर्टअनुसार, किम जोङ–इलको मृत्यु यही आधिकारिक ट्रेनमा भएको थियो । उनीहरू उत्तर कोरियाबाहिर भ्रमणमा थिए ।
सन् २०११ मा केसीटीभीले जारी गरेको फूटेजमा बताइएअनुसार, यो ट्रेनमा संसारको सबभन्दा महंगो वाइन थियो । ट्रेनमा शानदार पार्टी हुने गथ्र्यो । किम जोङ–इलले यो ट्रेनमा चढेर १२ वटा जति भ्रमण गरेका थिए र धेरैजसो भ्रमण
चीनमा थियो ।
ट्रेनमा उच्च सुरक्षा व्यवस्था छ र यसको हरेक बोगी बुलेटप्रूफ छ । सामान्य रेल कोचका तुलनामा यो भारी हुन्छ । भारी हुनाले यसको गति कम हुन्छ ।
चीन भ्रमणमा किम जोङ–उनले शहरको एक ठाउँबाट अर्को ठाउँमा जानका लागि मर्सिडिज बेन्ज प्रयोग गरेका थिए ।
दक्षिण कोरियाको पत्रिका जूङआङ इल्बोका अनुसार, यो कारलाई विशेष रूपमा किमको ट्रेनबाट नै ल्याइएको थियो ।
अखबारका अनुसार, यो कार सन् २०१० मा बनाइएको थियो र यसलाई बनाउन लगभग २० करोड खर्च गरिएको थियो । अप्रिल २७ मा पनमुनजोममा कोरियाली शिखर सम्मेलनमा किमको यो कारले मानिसहरूको ध्यान खिचेको
थियो ।
यसबाहेक सन् २०१५ मा आएको एक रिपोर्टमा दाबी गरिएअनुसार किमको गाडीहरूमध्ये एक निजी ट्वाइलेट कार पनि छ जसले लामो यात्रामा उनलाई सहज बनाउँछ । 
उत्तर कोरियाको मिडियामा कैयौंचोटि किमलाई डुंगा, पनडुब्बी, बस र स्की लिफ्टमा चढेको देखाइन्छ ।
बीबीसी हिन्दीबाट