काठमाडौं, २७ मंसिर - प्रेमगीत २ को प्रिन्सिपल छायांकन सोमबार पशुपतिनाथ मन्दिरदेखि सुरु गरिएको छ । चावहिल गणेश मन्दिरमा पूजाअर्चनासहित शुभसाइत गरियो । अबको दुई महिना नेपालसहित विदेशी रमणीय थलोमा लभस्टोरी चलचित्र प्रेम गीत २ को छायांकन हुनेछ ।
रामशरण पाठकले निर्देशन गर्न लागेको चलचित्रको बजेट दुई करोड रहेको जनाइएको छ । चलचित्रलाई उत्कृष्ट बनाउन चुनौती रहेको र स्तरीय बनाउन कुनै कसर बाँकी नराख्ने पनि उनले बताए । ‘विगतको भन्दा अझ स्तरीय बनाउने चुनौती मसँग छ । यसका लागि म प्रतिबद्ध छु’ उनले भने ।
आसु सेन ब्यानरमा निर्माण हुने यो तेस्रो सिनेमा हुनेछ । यसअघि चंखे शंखे पंखे र प्रेमगीतले बक्सअफिसमा आफूलाई स्थापित गरिसकेका छन् । निर्माता सन्तोष सेनले चलचित्रलाई राम्रो बनाउने बताए । ‘मेकिङलाई क्वालिटी तुल्याउनेतर्फ हामी केन्द्रित छौं’ उनले भने ।
प्रदीप खड्का, अश्लेष ठकुरी, भुवनचन्द, श्रद्धा प्रसाइँ, कैलाश कट्वाल, राजाराम पौडेल, प्रशान्त घिमिरे, संगीता नापित, कविता रेग्मी, कुमार कार्की, मुक्तबाबु आचार्य र सौरभ क्षेत्री कलाकार यस चलचित्रमा हुनेछन् ।

‘प्रेम र गीतको प्रेमकथा अब फेरि सुरु हुन्छ र दर्शकले अब नयाँ प्रेमकथामा मलाई पाउन सक्नुहुन्छ’ प्रदीप सुनिए । ‘अवश्य पनि म यसपटक परिपक्व र गम्भिरताका साथ प्रस्तुतहुँदैछु’ उनले भने ।
काठमाडौं, मुगुको रारा ताल, कपिलवस्तुको लुम्बिनी, थाइल्यान्डको पताया र बैंककहुँदै नेपालीभाषी बहुलम् यानमारको रंगुनलगायतका थलोमा फिल्म छायांकन हुनेछ । दोस्रो विश्वयुद्धदेखि तत्कालिन बर्मा (म्यानमार)मा बस्दै आएका नेपालीलाई सांस्कृतिक र भावनात्मकसम्बन्ध गाँस्ने कडीको रुपमा प्रेमगीत २ स्थापित हुने विश्वास आशुसेन फिल्मका जनसम्पर्क अधिकृत रेशम शाहले लिए ।
फिल्ममा रिनशा राईको नृत्य, अष्ट महर्जनको द्धन्द्ध, पुरुषोत्तमप्रधानको छायांकन समावेश हुने बताइको छ ।