
काठमाडौं, ३० वैशाख – उत्तर कोरियाले २३ र २५ मेको बीचमा आणविक परीक्षण केन्द्र बन्द गर्ने बताएको छ । अमेरिकाको राष्ट्रपति डोनल्ड ट्रम्पको उत्तर कोरियासँगको वार्ताअघि यो ठूलो कदम मानिएको छ ।
उत्तरको निर्णयलाई ट्रम्पले स्वागत गरेका छन् । ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ–उनका बीच सिंगापुरमा १२ जुनमा छलफल हुँदैछ ।
ट्रम्पले ट्वीट गरेर भने, ‘अत्यन्तै स्मार्ट र समझदारीपूर्ण निर्णयका लागि धन्यवाद ।’
उत्तर कोरियाको आणविक परीक्षण केन्द्र पुंग्ये–री हो । त्यहाँ किमले हाइड्रोजन बमसमेत ६ वटा आणविक परीक्षण गरेका थिए । उत्तरले आफ्नो सबभन्दा शक्तिशाली आणविक परीक्षण अघिल्लो सेप्टेम्बरमा गरेको थियो ।
तर केही विज्ञहरूका अनुसार, उत्तरले सार्वजनिक रूपमा आफ्ना क्षेप्यास्त्र समेतका हतियार आत्मसमर्पण नगरेसम्म उसमाथि विश्वास गर्न सकिन्न ।
त्यसो त किमले आणविक परीक्षणको युग सकिएको बताएका थिए । अब परीक्षण केन्द्रको कुनै आवश्यकता नभएको उनको भनाइ थियो ।
उत्तरको परराष्ट्र मन्त्रालयले छिट्टै परीक्षण केन्द्र उडाइदिने बताएको छ । अहिले त्यहाँ कसैलाई पनि जान दिइएको छैन ।
यो खबरलाई दक्षिण कोरियाले स्वागत गरेको छ ।
दक्षिण कोरियाका राष्ट्रपतिका प्रवक्ताले भने, ‘उत्तर कोरियाको आणविक परीक्षण सुरुङलाई डाइनामाइटबाट उडाएको आवाज न्युक्लीयर फ्री कोरियाली प्रायद्वीप बनाउनेतर्फको पहिलो कदम हुनेछ ।’
एजेन्सी