
काठमाडौं, १ जेठ – भारतको कर्नाटकमा शनिवार भएको विधानसभा निर्वाचनमा भारतीय जनता पार्टीले सरकार बनाउने लक्षण देखिएको छ ।
प्रारम्भिक मतपरिणाम रुझान हेर्दा भाजपाले ११४, कांग्रेसले ६६ र जेडीएसले ३९ सीट जित्ने देखिँदैछ । कर्नाटकमा कुल २२४ सीट छन् ।
भाजपाले सरकार बनाउने विषयमा मन्थन शुरु गरिसकेको छ । वरिष्ठ नेता प्रकाश जावडेकर अमित शाहसँगको भेटघाटपछि बंगलुरु गइसकेका छन् ।
यो चुनाव भाजपाका लागि दक्षिणमा नयाँ शुरुवातका लागि महत्त्वपूर्ण छ भने कांग्रेसका लागि यो अस्तित्वको लडाईं हो । कांग्रेसको भने ओरालो यात्रा जारी छ । उसको अब पञ्जाब, मिजोरम र पुडुचेरीमा मात्र सरकार छ ।
भाजपा भने ३१ मध्ये २० राज्यमा सत्तारूढ छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कर्नाटकमा चुनाव जित्नका लागि कडा मेहनत गरेका थिए । उनको हालैको नेपाल भ्रमण पनि कर्नाटकका हिन्दू मतदाताको मन जित्नका लागि भएको विश्लेषण गरिएको थियो । नेपालका तीर्थस्थलको भ्रमणले मोदीलाई कर्नाटकमा विजय दिलाएको बताइँदैछ ।
एजेन्सी