
काठमाडौं, १ जेठ – अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियका नेता किम जोङ–उनका बीच जुन १२ मा हुने ऐतिहासिक शिखर सम्मेलनअघि उत्तरसम्बन्धी एक खुलासा भएको छ ।
उत्तरका एक पूर्व कूटनीतिज्ञले उक्त देशले कहिले पनि आफ्ना सबै आणविक हतियार नष्ट नगर्ने बताए । बेलायतमा उत्तर कोरियाका उपराजदूत रहेका थाए योङ हो अगस्ट २०१६ मा पदबाट राजीनामा दिएर दक्षिण कोरिया गएका थिए ।
उनले अहिलेको कूटनीतिक प्रयास र कुराकानी वास्तविक तथा पूर्ण निःशस्त्रीकरणका साथ अन्त्य नहुने बताए । तर उत्तरले आणविक जोखिमलाई कम चाहिँ गर्ने उनको भनाइ छ ।
थाएले दक्षिण कोरियाको समाचार संस्था योन्हापलाई भने, ‘अन्ततोगत्वा उत्तर कोरिया आणविक हतियारमुक्त देशको आवरणमा आणविक शक्तिसम्पन्न मुलुक नै रहनेछ ।’
अमेरिकासँगको वार्ता उत्तरको कूटनीतिक रणनीति भएको उनी बताउँछन् । पहिला अत्यधिक भिडन्तको स्थिति उत्पन्न गर्ने अनि अचानक शान्तिको संकेत पठाउने रणनीति हो । त्यसो त अघिल्लो हप्ता उत्तरले आणविक परीक्षणस्थल नष्ट गर्ने बताएको थियो ।
एजेन्सी