०७ असार २०८३, आइतबार

प्रमुख समाचार : एमाले–माओवादी सम्बन्धमा सुधार, मेयर आक्रमणमा विप्लवको पार्टीको हात

प्रमुख समाचार : एमाले–माओवादी सम्बन्धमा सुधार, मेयर आक्रमणमा विप्लवको पार्टीको हात

काठमाडौं, २ जेठ–एमाले र माओवादी केन्द्रबीच सम्बन्ध सुधारको संकेत देखिएका छन् । सरकार सञ्चालनमा असन्तुष्टि जनाएको माओवादी नेताहरुसँग प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ शिराबाट परामर्श थालेसँगै सम्बन्ध सुधारको संकेत देखिएका हुन् । 
ओलीले सरकारको नीति तथा कार्यक्रम र बजेट ल्याउन पर्याप्त गृहकार्य गर्ने बचन पनि दिएको माओवादी नेताहरुले बताएका छन् । 
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला अरुण तीन जलबिद्युत परियोजनाको शिलान्यासमा ऊर्जामन्त्री वर्षमान पुनलाई नबोलाइएपछि चिसिएको सम्बन्ध सुधारका लागि प्रधानमन्त्री ओलीले छलफल थालेका हुन् ।  उनले मन्त्री पुनसँग सोमबार एकघण्टा बढी छलफल गरे । मंगलबारमात्रै प्रधानमन्त्री ओलीले एक कार्यक्रममार्फत एकता भइछाड्ने भन्दै अहिले गलत हल्ला चलाउने काम भएको बताएका थिए । 

मेयर आक्रमणमा विप्लवको पार्टीको हात
मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठमाथि भएको आक्रमणमा विप्लव नेतृत्वको नेकपा मुछिएको छ । आक्रमणमा संलग्न रहेको भन्दै प्रहरीले  कुशल बोगटीलाई पक्राउ गरेसँगै यस्तो खुलासा  भएको हो । उनी विप्लवका कार्यकर्ता  भएको प्रहरीले जनाएको छ । 

डीभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा

मध्यपुरथिमि गठ्ठाघरस्थित आफ्नै निवासमा गत वैशाख ८ गते मध्यपुर थिमि नपाका नगरप्रमुख श्रेष्ठमाथि सांघातिक आक्रमण भएको थियो । 

महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको विशेष टोलीले कालीकोट रुप्सा–५ घर भई हाल भक्तपुर सल्लाघारीमा बस्दै आएका वर्ष ३० का बोगटीलाई काठमाडौँको बागबजारबाट पक्राउ गरेको प्रहरी नायब उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए । 

उनी नेकपाका भक्तपुर जिल्ला सेक्रेटरी समेत हुन् । 

राउतको अभिव्यक्तिलाई लिएर प्रदेशसभामा चर्काचर्की
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरधाममा गरिएको नागरिक अभिनन्दनका क्रममा मुख्यमन्त्री लालबाबु राउतले दिएको अभिव्यक्तिप्रति मंगलबार प्रदेश नं. २ का प्रदेशसभा बैठकमा चर्काचर्की भएको छ । 

मुख्यमन्त्रीको अभिव्यक्तिलाई लिएर बैठकमा नेकपा एमाले, नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)का प्रदेशसभा सदस्यले खुलेर विरोध जनाएका थिए भने मधेश केन्द्रित दल संघीय समाजवादी फोरम र राजपा नेपालले बचाउ गरेका थिए । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरधाममा गरिएको नागरिक अभिनन्दनका क्रममा मुख्यमन्त्री राउतले प्रदेश २ केन्द्र सरकारको विभेदका कारण पछि परेको र विभेदकारी संविधानका विरुद्ध आफूहरुको संघर्ष जारी रहेको अभिव्यक्ति दिएका थिए ।

यातायात समितिको नाममा रहेको रकम र सम्पत्ति खोज्दै सरकार
सरकारले संस्था दर्ता ऐन, २०३४ बमोजिम दर्ता भएका यातायात सम्बद्ध संघसंस्थाहरुको नाममा रहेको रकम, शेयर र सम्पत्ति खोजबिनलाई थप तीव्रता दिएको छ । 

 गृहमन्त्रालयमा बसेको बैठकले यातायात सम्बद्ध संघसंस्थाहरुको चल, अचल शेयर, सम्पत्तिको विवरण १५ दिनभित्र विवरण तयार पारी गृह मन्त्रालय र यातायात व्यवस्था विभागमा पठाउन देशभरका प्रमख जिल्ला अधिकारीलाई गृह मन्त्रालयले निर्देशन दिने निर्णय गरेको हो । बैठकमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरिञ्जीवी नेपाललगायतको उपस्थिति रहेको थियो । 

११ सांसदको डेलिगेसन
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले तीव्र विकास गर्न चाहेको बताएका छन् । 

प्रदेश नं २ का ११ सांसदको सर्वदलीय प्रतिनिधिमण्डललाई बालुवाटारमा सम्बोधन गर्दै उनले देशको विकासका लागि हिमाल पहाड तराईका जनता एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए । 

प्रधानमन्त्री ओलीले विकासका लागि अरूको मुख ताक्ने र दोष अरूलाई दिएर आफू उम्कन नहुने भन्दै विकासका लागि आफैँ अग्रसर हुनुपर्ने बताए । 

सो अवसरमा सांसदहरुले प्रदेश नं २ मा कृषि तथा सिँचाइ, उद्योग, पर्यटन, यातायात, स्वास्थ्य, चुरे संरक्षण तथा नदी नियन्त्रण लगायतका कार्यक्रम सञ्चालन गर्न प्रधानमन्त्रीसंग आग्रह गरे । 

विमानस्थल २१ घण्टा चल्दै

मुलुकको एक मात्र अन्तर्रा्ष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलाई व्यवस्थित र प्रभावकारी बनाउन सरकार लागिपरेको छ । 

विमानस्थलमा बढ्दो चापलाई न्यूनीकरण गरी सेवालाई थप गुणस्तरीय र प्रभावकारी बनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यही जेठ ७ देखि विमानस्थल २१ घण्टा सञ्चालन गर्न लागेको हो । 

पर्यटनमन्त्री रवीन्द्र अधिकारीले विमानस्थलको हवाई ट्राफिक चाप नियन्त्रण गर्ने उद्देश्यले २१ घण्टा विमानस्थल सञ्चालन गर्न निर्देशन दिएका थिए ।  मन्त्री अधिकारीको १०० दिने कार्ययोजनाको उच्च प्राथमिकता परेको यो कार्यलाई सफल तुल्याउन सरोकार भएका निकाय तथा विज्ञहरुसँग मन्त्री अधिकारीले पटक–पटक छलफल गरिसकेका छन् । 

काँग्रेस संसदीय दल कार्यसमिति निर्विरोध
नेपाली काँग्रेस संसदीय दल कार्यसमिति सदस्यमा आवश्यक निर्वाचित हुने पद संख्यामा मात्र उम्मेदवारी मनोनयन दर्ता भएपछि कार्यसमिति निर्विरोध भएको छ । 

कार्यसमितिको निर्वाचनका लागि गठित निर्वाचन समितिले मंगलबार बिहान ११ देखि दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्खास्तको समय निर्धारण गरेको थियो । 

निर्विरोध निर्वाचित कार्यसमितिमा सात प्रदेशबाट डा मीनेन्द्र रिजाल, तेजुलाल चौधरी, दिव्यमणि राजभण्डारी, प्रकाश पन्थ, देवेन्द्रराज कँडेल, रंगमती शाही र दिलेन्द्रप्रसाद बडू रहेका छन् ।  

त्यस्तै, खस आर्यबाट तारादेवी भट्ट र राजेन्द्रकुमार केसी, आदिवासी÷जनजातिबाट प्रमिला राई र ज्ञानकुमारी छन्त्याल, मधेशीबाट जितेन्द्रनारायण देव र मीनाक्षी झा रहेको निर्वाचन समितिका संयोजक चीनकाजी श्रेष्ठले जानकारी दिए । 
त्यस्तै, दलितबाट मीनबहादुर विश्वकर्मा र विमला नेपाली, थारूबाट नमिता चौधरी, मुस्लिमबाट अतहर कमाल मुसलमान र पिछडिएको क्षेत्रबाट रामबहादुर विष्ट निर्विरोध निर्वाचित भए । 

पार्टी एकता चाँडो गर्ने विषयमा छलफल
नेकपा (एमाले) का नेता माधवकुमार नेपाल र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पार्टी एकता चाँडो गर्ने विषयमा मंगलबार  छलफल भएको छ । 
ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा दुई नेताबीच भएको छलफलका क्रममा छिटोभन्दा छिटो एकता संयोजन समिति बैठक राखेर रोकिएको एकता प्रक्रियालाई अगाडि बढाउनका लागि छलफल भएको पूर्वप्रधानमन्त्री नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए । 
नेविसंघको चक्काजाम
नेपाल विद्यार्थी संघले भारतीय जनता पार्टीका सांसद कीर्ति आजादले दिएको अभिव्यक्तिको विरोध गरेको छ । 

नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेको नेतृत्वको टोलीले मंगलबार त्रिचन्द्र क्याम्पस अगाडि एक घण्टा ¥याली, प्रदर्शन तथा कोणसभा आयोजना गरी विरोध जनाएको हो । 


शेयर बजारमा सामान्य प्रभाव
नेपाल धितोपत्र बोर्डले शेयर कारोबारमा संलग्नलाई व्यक्तिगत जानकारी (केवाइसी) अद्यावधिक गर्न दिएको निर्देशन कडाईका साथ कार्यान्वयन भए पनि मंगलबार शेयर बजारमा सामान्य प्रभाव परेको छ । 

शेयर बजारको मापक नेप्से परिसूचक मात्रै नभई कारोबारमा समेत कमी आएको छ । बोर्डको निर्देशनानुसार शेयर दलालहरुले कारोबारकर्ताको विवरणमा कडाई गरेका कारण बजारमा कारोबार घटेको हो । 

नेपाल स्टक एक्सचेन्जकाअनुसार निरन्तर घट्दै आएको बजार मंगलबार चार दशमलव ३२ बिन्दुले ओरालो लागेर एक हजार ३३३ दशमलव ८५ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत घटेको छ । 

कूल १४३ कम्पनीको तीन लाख १९ हजार २६० कित्ता शेयर रु १४ करोड ९२ लाख ३९ हजार ९५५ मूल्यमा खरिद बिक्री भएको स्टकले जनाएको छ । विभिन्न दश उपसमूह मध्ये दुई उपसमूहको शेयर बढेको छ भने आठ उपसूचकको शेयर ओरालो लागेको छ । व्यापार समूह पाँच दशमलव ४९ र उत्पादन समूह २८ दशमलव १६ बिन्दु बढ्दा बैंकिङ चार दशमलव २८, होटल ३२ दशमलव ९५, विकास बैंक १० दशमलव ९६, जलविद्युत् १३ दशमलव १४, फाइनान्स एक दशमलव ३३, बीमा १२ दशमलव ७६, अन्य शुन्य दशमलव ५३ र माइक्रोफाइनान्स समूह पाँच दशमलव ६२ बिन्दुले ओरोलो लागेको छ । 

विदेशका खबर
उत्तर भारतमा सडकमाथि निमार्णाधीन आकासे पुल मङ्गलबार भत्किँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने अन्य केही व्यक्ति भग्नाबशेषमा फसेका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । 
वाराणसी जिल्लाको सेनाको अस्थायी शिविर रहेको क्षेत्रमा निर्माण हुँदै गरेको आकासे पुल भत्किएको र उक्त घटना उत्तर प्रदेशको राजधानी लखनऊबाट ३०६ किलोमिटर दक्षिणपूर्वमा भएको हो । 
भारतीय अधिकारीका अनुसार निर्माणाधीन आकासे पुलका दुई वटा पिलर भत्किँदा रोडा र सिमेन्टले बनेको विशाल संरचना सडकमा गुडिरहेका गाडी र मानिसमाथि खस्दा मानवीय क्षति हुनपुगेको बताइएको छ । 
घटनास्थलमा केही गाडी र मानिसहरू भत्किएको पुलको संरचनाले थिचेको छ भने केही घाइतेको सङ्ख्या गम्भीर रहेकोले मृतक सङ्ख्या बढ्न सक्ने बताइएको छ । 
। 
स्थानीय टेलीभिजन च्यानल एएनआईले पनि घटनामा १२ जनाको मृत्यु भएको र अन्य केही भग्नाबशेषमा फसेको जनाएको छ । मृतक तथा फसेका अधिकांश व्यक्ति श्रमिक, पैदलयात्रु र केही काम हेरिरहेका दर्शक परेका एक जना प्रत्यक्षदर्शीले बताए । 


 

कमेन्ट गर्नुहोस्