काठमाडौं, २ जेठ – चीनको एक प्रान्तले भारतमा दीक्षाप्राप्त तिब्बती बौद्ध भिक्षुलाई आफ्नो क्षेत्रमा प्रवेश गर्न प्रतिबन्ध लगाएको छ । गलत शिक्षा लिएर आएका यी बौद्ध भिक्षुले चीनमा पृथकतावादी विचारलाई प्रोत्साहन दिनसक्ने आशंका चीनले गरेको छ ।
सरकारी मिडिया रिपोर्टअनुसार, सिचुआन प्रान्तको लिटयाङ काउन्टीले यो प्रतिबन्ध लगाएको हो । ग्लोबल टाइम्सले भारतमा गलत शिक्षा पाएका भिक्षुमाथि प्रतिबन्ध लगाइएको लेख्यो ।
लिटयाङ प्रान्तको पारम्परिक र धार्मिक मामिला ब्युरोका एक अधिकारीले पत्रिकालाई बताए, ‘हरेक वर्ष काउन्टीले देशभक्तिको कक्षा लिन्छ । यसमा सर्वश्रेष्ठ प्रदर्शन गर्नेलाई अवार्ड दिइन्छ । यो टिबेटन बुद्धिस्ट स्टडीज इन इन्डियाको सबभन्दा ठूलो अवार्ड हो ।’
ती अधिकारीले यो वर्ष क्लासमा अनुपयुक्त व्यवहार गर्नेमाथि निगरानी गरिने बताए । कुनै पनि विद्यार्थीले पृथकतावादी विचारको कुनै संकेत दिएमा उसमाथि कडा नजर राखिने उनी बताउँछन् ।
चीनको धार्मिक मामिला समितिका पूर्वअध्यक्ष झु वाइकुआनले भने, ‘केही गुरुले विदेशहरूमा चौधौं दलाई लामाको समूहबाट बौद्ध धर्मको शिक्षा प्राप्त हुन्छ । दलाई लामालाई हामी पृथकतावादी नेताका रूपमा हेर्छौं । त्यसैले
धर्मगुरुहरूमाथि कडा नजर लगाउनुपर्छ । उनीहरूले स्थानीय धर्मगुरुसँग मिलेर पृथकतावादी गतिविधि चर्काउन सक्छन् ।’
एजेन्सी