
काठमाडौं, २ जेठ – चीनको एक यात्रुवाहक विमानको ककपिटको झ्याल भत्किएपछि इमर्जेन्सी ल्यान्डिङ गर्नुपरेको छ । झ्याल भत्किएपछि दुईजना घाइते भएका छन् ।
विमान ३२ हजार फीटको उचाइमा हुँदा यो दुर्घटना भएको थियो । दुर्घटनापछि विमानमा हल्लाखल्ला मच्चियो । कोपाइलटको आधा शरीर बाहिर हावामा झुण्डियो जसले गर्दा उनलाई धेरै चोट पनि लाग्यो ।
सिचुआन एयरलाइन्सको यो विमान ३यू८६३३ चोङकिङबाट ल्हासा गइरहेको थियो । उडेको एक घन्टामा प्लेन चेङ्दु पुग्दा झ्याल भत्किएको थियो ।
क्याप्टेन लियु चुआनजियानका अनुसार, दुर्घटनाका कारण विमानका कोपाइलट झ्याल भत्किएपछि प्लेनभित्र प्रेसर बढेका कारण बाहिर हुत्तिएका थिए । सीटबेल्टका कारण उनको ज्यान बचेको थियो ।
सिन्ह्वाका अनुसार, क्याप्टेनले घटनापछिको खतरनाक स्थितिका बारेमा एयर ट्राफिक कन्ट्रोलरलाई खबर गरे ।
कोपाइलटको अनुहारमा चोटपटक लागेको छ र कम्मरमा पनि केही चोट छ । त्यसबाहेक एक महिला यात्रुलाई पनि चोट लागेको छ ।
घटनापछि प्लेनलाई चेङ्दुको शोङ्लियु अन्तर्राष्ट्रिय विमानसथलतर्फ डाइभर्ट गरिएको थियो । बडो गाह्रो गरी २० मिनेटभित्र क्याप्टेनले प्लेनलाई सुरक्षित अवतरण गराएका थिए ।
पछि दुवै घाइतेलाई पिपुल्स हस्पिटल लगियो ।
दुर्घटनाबाट बचाउने क्याप्टेन लियु चुआनजियानको प्रशंसा भइरहेको छ । लियुले त्यो रूटबाट सयचोटि भन्दा बढी उडान गरिसकेकाले फाइदा भएको बताए ।
सिचुआन एयरलाइन्सले जारी गरेको प्रारम्भिक बयानमा यो दुर्घटना फ्लाइट कन्ट्रोल युनिट फेल भएका कारण हुन पुगेको बतायो । यसको अनुसन्धान भइरहेको छ ।
एजेन्सी