
सुर्खेत, २ जेठ– सोमबार सरकारले देशलाई लोडसेडिमुक्त गरिरहँदा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर भने अँध्यारो थियो । लाग्थ्यो– संघीय सरकारको यो घोषणालाई कर्णाली प्रदेशले उपहास गरिरहेको छ ।
सोमबार गएको बत्ती मंगलबार साँझ आयो भने आज बुधबार फेरि गायब भएको छ ।
यो संयोगमात्र होइन, कर्णाली प्रदेशको राजधानीमा दोहोरिइरहने नियती नै हो । ‘हावा चल्यो, बत्ती गयो’ यो वाक्य जनजिब्रोमा झुण्डिने बिडम्बना बनेको छ ।
वीरेन्द्रनगरमा मोबाइल सर्भिस गर्ने एक टेक्निसियनले महिनामा कम्तिमा पनि ४ दिन बत्ती जाने गरेको र त्यसले आफूहरुलाई ठूलो नोक्सान हुने गरेको बताउँछन् । टेकबहादुर सिंह नाम गरेका उनी मुलुक लोडसेडिङ मुक्त भनेर घोषणा गरिएपनि सुर्खेतमा भने महिनाको चार दिन विभिन्न बहानामा विजुली जाने गरेको बताए । ‘जहिल्यै हावा चल्यो, बत्ती जान्छ ।’ उनले भने, ‘तर यो कहिलेसम्म हो थाहा छैन ।’
वीरेन्द्रनगरमै साउण्ड सिष्टम भाडामा दिने गरेका नरेश रावत पनि बत्तिकै कारण ठूलो घाटा व्यहोर्नु परेको बताउँछन् । एकातिर लोडसेडिंग मुक्त भन्ने अर्को तिर दिनहुँ बत्ति हराउने ? उनले प्रश्न गरे, कर्णाली सरकार के गर्दैछ ?