
काठमाडौं, ४ जेठ– अमेरिकी गुप्तर निकाय सीआईएमा पहिलो महिला निर्देशकका रूपमा जिना ह्यास्पेल नियुक्त हुने भएकी छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको सिफारीस अमेरिकी सिनेटले अनुमोदन गरेको छ ।
राष्ट्रपति बुसको कार्यकालमा सीआईएले अपनाएको पट्टी बाँधेर पानीमा डुबाउने सहितका यातना दिने कतिपय शैलीलाई लिएर सांसदहरूबीच दलीय आधारमा विभाजन देखिएपनि जिना ह्यास्पेलका पक्षमा ५४ र विपक्षमा ४५ मत परेको थियो ।
बिहीवार ६ जना डिमोक्रयाट सांसदहरूले पार्टीको नीति विपरित उनको पक्षमा मतदान गरे । सन् २००१ सेप्टेम्बरमा अमेरिकामा भएका आतंकवादी हमलापछि गुप्तचर निकायले चलाएको विवादास्पद केरकार तथा सोधपूछ कार्यक्रममा उनको पनि भूमिका रहेको थियो ।
सीआईएकी वरिष्ठ कर्मचारी ह्यास्पेलले सन् २००१ को सेप्टेम्बरमा भएको हमलापछि थाइल्याण्डमा रहेको एउटा भूमिगत अखडा हेर्ने जिम्मेवारी पाएकी थिइन् । सीआईएमा ३३ वर्ष काम गरेकी ह्यास्पेलले अधिकांश समय भूमिगत गुप्तचरको भूमिका निर्वाह गरेकी थिइन् ।