काठमाडौं, ४ जेठ – केही दिनअघि चीनले आफ्नो क्षेत्रमा रहेका मुसलमानहरूलाई शिक्षित बनाउनका लागि क्याम्प खोलेको छ । यस क्याम्पमा बसेका एक मुसलमानले आफ्नो पीडा सुनाएका छन् जसबाट बेइजिङमा उनीहरूको दयनीय स्थितिको बारेमा थाहा हुन्छ ।
कायरत समरकन्दका अनुसार, उनको एकमात्र अपराध भनेको उनी मुसलमान हुन् र छिमेकी मुलुक कजाखस्तान गए । यत्तिको आधारमा उनलाई हिरासतमा लिइयो, तीन दिनसम्म कडा प्रश्न सोधियो र नोभेम्बरमा चीनको सिनजियाङमा तीन महिनाका लागि रिएजुकेसन क्याम्प लगियो ।
कुरा यत्तिमा टुंगिएन । एक अन्तर्वार्तामा समरकन्दले बताएअनुसार, क्याम्पमा उनलाई लगातार बेइज्जत गरियो र उनको ब्रेनवाश गर्ने प्रयास गरियो । हरेक दिन घन्टौंसम्म उनलाई कम्युनिस्ट प्रोपागान्डा पढ्न बाध्य पारियो । यतिले नपुगेर उनलाई हरेक दिन राष्ट्रपति सी चिनफिङलाई धन्यवाद भन्ने तथा लामो उमेरको कामना गर्ने नारा लगाउन लगाइयो ।
समरकन्दले बताए, ‘यो नियमको पालना नगर्ने, बहस गर्ने वा पढ्न आउन ढिलो गर्ने व्यक्तिको हात र गोडा १२ घन्टाका लागि बाँधिन्थ्यो ।’ नियम पालन नगर्नेको मुखमा पानी खन्याइन्थ्यो ।
मंगलवार जारी एक रिपोर्टमा युरोपियन स्कूल अफ कल्चर एन्ड थियोलोजीका आद्रियान जेन्जले चीनको यस्ता रिएजुकेसन क्याम्पमा हजारौं मुललमानलाई राखिएको छ ।
चीनको सिनजियाङ प्रान्तमा लगभग एक करोड १० लाख मुसलमान छन् र कुल जनसंख्या दुई करोड १० लाख छ । यिनीहरूमध्ये धेरैलाई हिरासतमा लिइएको छ जसमा अधिकांश युवा पुरुष छन् ।
चीनको सिनजियाङमा बस्ने मुसलमान समुदायमाथि आतंक फैलाएको आरोप लगाउँदै सरकारले अनेकौं प्रतिबन्ध लगाएको छ । अघिल्लो वर्षको सेप्टेम्बरमा सिनजियाङ प्रान्तका अधिकारीहरूले उइगुर समुदायलाई चेतावनी दिँदै
उनीहरूको कुरान, नमाज पढ्ने म्याट सहित सबै धार्मिक कुराहरू सरकारलाई बुझाउन भनेका थिए । यसो नगरेमा कडा सजाय दिइने बताइएको थियो ।
करामागे गाउँको एक क्याम्पमा लगभग पाँच हजार ७०० मानिसलाई बन्दी बनाएर राखिएको छ । तिनमा सबै कजाखस्तान वा उइगुर समुदायका हुन् । तीमध्ये लगभग २०० मानिस धार्मिक अतिवाद बढाउनमा संलग्न रहेको बताइएको
छ । आफूहरूसँग बसेका अनेकौं मानिसले आत्महत्या गरेको उनीहरू बताउँछन् ।
रिएजुकेसन क्याम्पमा रहेका ऊमर बेकालीले भने, ‘क्याम्पहरूमा घटिया खाना खुवाइन्छ । मासु खान खासै दिँइदैन । फूड पोइजनिङ सामान्य छ । कहिलेकाहीँ सजायका रूपमा सुँगुरको मासु खान बाध्य पारिन्छ जुन इस्लाममा हराम मानिन्छ । धार्मिक उग्रवादीलाई बढाएको आरोप लागेकाहरूलाई रक्सी समेत पियाइन्छ ।’
एजेन्सी