काठमाडौं, ४ जेठ–राष्ट्रिय सभाका सदस्य रामनारायण बिडारी र राधेश्याम अधिकारीले कलंकी–नागढुंगा सडक खण्ड विस्तारको काम समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन् ।
राष्ट्रिय सभाका सदस्य रामनारायण बिडारीले सरकारले नै नेपाली जनताको स्वास्थ्यमाथि गम्भिर खेलवाड गरेको आरोप लगाएका छन् ।
राष्ट्रिय सभाको शुक्रबाको बैठकमा बोल्दै बिडारीले कलंकी–नागढुङ्गा सडक क्षेत्रको धूलोले त्यहाँका स्थानीयमा श्वास प्रश्वासको समस्या बढ्दै गएको भन्दै सरकारले नै जनताको स्वास्थ्यमा खेलवाड गरेको आरोप लगाए । ठेकेदार र सरकारी कर्मचारी नै मिलेर सडक विस्तारको काम समयमा सम्पन्न नगर्दा पनि सरकार टुलुटुल हेरेर बसेको उनको आरोप छ ।
‘कलंकी–नागढुङ्गा सडकमा धूलो, हिलो र ठूला–ठूला खाल्डाहरू छन्, त्यहाँका जनता धूलोले रोगी बनेका छन्, ठूला–ठूला खाल्डमा सवारी साधन परेको छ,’ बिडारीले प्रश्न गरे, ‘ठेकेदार र सरकारी कर्मचारी नै मिलेर सडकमा धराप थाप्ने ? जनताको स्वास्थ्यमाथि खेलबाड गर्ने ?’
आफूले पटक–पटक आवज उठाउँदा पनि उक्त सडक खण्ड निर्माणमा ढिलाइ भइरहेको भन्दै उनले सरकारले समयमै सडक निर्माण सम्पन्न नगर्ने ठेकेदार र कर्मचारीलाई कारवाही गरी उक्त सडक तुरुन्त सम्पन्न गर्नुपर्ने माग समेत राखे ।
बैठकमा विशेष समयम लिएर बोल्दै राष्ट्रिय सभाका अर्का सदस्य राधेश्याम अधिकारीले राजधानीको सडक अत्यन्तै दुराअवस्था रहेकोले आफूले विशेष सयम लिएर बोल्नुपरेको बताए ।
‘काठमाडौंबाट बाहिरिने सडक किन समयमा बनेन भन्दा, अदालतको आदेशले रोक्यो भनिन्छ, के सबै ठाउँमा पिच हुन अदालतले नै रोकेको हो ?,’ उनले भने, ‘यो नबनाउने बहाना मात्रै हो, बर्सेनि त्यही सडकको नाममा सरकारको ढुकुटी रित्याउन पाए भयो ? नेपाली जनतालाई समस्या नै समयस्या मात्रै छ । यसलाई समाधान गर्नपुर्यो ।’
मेलम्ची खानेपानीको नाममा राजधानीबासीले हैरानी खेप्नुपरेको भन्दै उनले ठेकेदारसँग कानून अनुसार कार्य अगाडि बढाउन माग गरे ।