
काठमाडौं, ५ जेठ– ल्याटिन अमेरिकी मुलुक क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा १ सय १० जना भन्दा बढीको मृत्यु भएको छ ।
क्युबाको सरकारी बोइङ ७३७ विमान हवानाको होजे मार्टी अन्तराष्ट्रिय विमानस्थल नजिकै दुर्घटना भएको हो । विमानमा चालक दलका सदस्यसहित १ सय १६ जना थिए ।
क्युबाका समाचार माध्यमका अनुसार तीन जनालाई भने गम्भीर अवस्थामा उद्धार गरिएको छ । बाँच्न सफल तीन जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
प्रत्यक्षदर्शीहरूका अनुसार उड्ने बित्तिकै विमानमा समस्या उत्पन्न भएको थियो र विमानस्थल नजिकैको खेतमा जोतिन पुगेको थियो। त्यसपछि विमानमा आगो लागेको थियो।
क्युबाकै पूर्वी क्षेत्रमा अर्को शहर होलुगुइनका लागि उडेको विमानमा रहेका सबै यात्रु क्युबाकै नागरिक हुन् ।
क्यूबाली राष्ट्रपति मिगेल डियाज दुर्घटनास्थल पुगेर दुर्घटनाको छानबिन गर्न आदेश दिएका छन् । उनले दुर्घटनामा ज्यान गुमाउनेहरुको परिवारप्रति दुःख व्यक्त गरेका छन् ।