
सुर्खेत, ५ जेठ– कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मिडियाले देश बनाउने सवालमा सिपाहीको भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।
शनिबार वीरेन्द्रनगरमा सामुदायिक रेडियो प्रशारक संघ कर्णाली प्रदेशको प्रथम साधारण सभा तथा रेडियो सम्मेलन उदघाटन समारोेहलाई सम्वोधन गर्दै उनले समाजलाई सभ्य, नैतिकवान र क्षमतावान बनाउन सञ्चारको महत्वपूर्ण भूमिका रहेको बताए ।
कर्णालमिा केही रेडियोहरु दोहोरी खेल्नेमा मात्रै सिमित रहेको बताउँदै आआफ्ना पक्षका दोहोरी खेल्नका लागि लडाईँ गर्ने माध्यम नबनाउन र मिडियालाई अझै शसक्त बनाई जनताका सवालमा कलम चलाउन पत्रकारलाई आग्रह गरे । ‘प्रदेशमा ४० ओटा एफएमहरु सञ्चालनमा आएका छन् ’ उनले भने, ‘ती रेडियोलाई व्यवस्थित गरौं, नयाँ खोल्नु खासै जरुरी नै छैन ।’
मुख्यमन्त्री शाहीले कर्णाली बनाउने अभियानलाई मिडियालाइ भूमिका खेल्न सुझाव दिए । ‘हाम्रो गन्तब्य समृद्ध कर्णाली नै हो ।’ उनले भने, ‘यसकालागि सञ्चार षेत्रको साथ, सहयोग र रचनात्मक सुझावको अपेक्षा छ ।’
रेडियोको वर्गीकरण आवश्यकः राज्यमन्त्री वास्कोटा
सञ्चार तथा प्रविधि राज्य मन्त्री गोकुल वास्कोटाले रेडियोहरुको वर्गिकरण गर्नुपर्ने बताए । ‘सामुदायिक रेडियो र व्यावसायीक रेडियोलाई एकै नजरमा हेर्न सकिदैन’ उनले भने, ‘सामुदायिक रेडियोहरु सेवामुखी हुन्छन् भने व्यावसायीक रेडियोहरु नाफामुखी हुन्छन् ।’ मन्त्री वास्कोटाले संघ, प्रदेश र स्थानीय गरी तीनै तहका सरकारहरुले सञ्चारमाध्यमको क्षमता अभिवृद्धि गर्न सहयोग गर्नुपर्नेमा जोड दिए ।
मन्त्री वास्कोटाले अहिले केहिले विभिन्न नेताहरुको चरित्र हत्या गर्ने, जिउदो मान्छेको फोटो राखेर मरेको भन्दै प्रचार गर्ने काम गरिरहेको बताउँदै त्यसप्रति सरकार कठोर बन्ने बताए । त्यस्तालाइृ कारवाही गर्न आफुले कत्ति पनि बिलम्ब नगर्ने बताउँदै सरकार प्रेस सवतन्त्रता प्रति जिम्मेवार र प्रतिबद्ध रहने उनको भनाई छ । ‘अमेरिकामा कम्युनिष्ट पार्टी खोल्न पाउनुपर्छ भन्ने कुनै त्यहाँको पत्रकारले आवाज उठाउन पाएको छ ?’ उनले भने, ‘अमेरिकामा त्यस्तो अधिकार छैन । तर हामीले तजति रेडियो खोल्नुस, पत्रिका खोल्नुस, अनुमति दिएका छौं ।’ उनले अमेरिकाभन्दा बढी प्रेस स्वतन्त्रता नेपालमा पाइने गरेको बताए ।
‘देशले समृद्धिको सपना मात्रै देखेको होइन, सपना त हजुरबुवाले पनि देखेका थिए ।’ उनले भने, ‘अब हामीले व्यवहारमा लागु गर्नुछ, देश बनाउनुछ ।’ मन्त्री वास्कोटाले कर्णालीको भूगोल बदल्न नसकेपनि यहाँको स्रोत र साधनलाई प्रयोग गरेर देशलाई नै समृद्ध बनाउन सकिने धारणा राखे ।
आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले कर्णाली प्रदेश सरकार पत्रकारको हितमा काम गर्न तयार रहेको बताए । ‘हामीले आम सञ्चार प्रतिष्ठान र विज्ञापनका लागि एकद्धार नीति अबलम्बन गर्ने योजना बनाएका छौं ।’ उनले भने, ‘मिडियालाई बलियो बनाएर लैजान प्रदेश सरकार तयार छ ।’ मन्त्री ज्वालाले सञ्चारमाध्यमका लागि आवश्यक कानून, नीति बनाउने, शुद्धिकरण गर्ने पकारको क्षमता विकासमा सरकार लाग्ने बताए । उनले कर्णालमिा रहेका समस्या समाधानका लागि संघ सरकारले विशेष भूमिका निर्वाह गर्ने अपेक्षा राखे । सामाजिक विकास मन्त्री दल रावलले मिडियाले दुर दराजका जनताका पिडालाई उजागर गरी अघि बढ्नुपर्नेमा जोड दिए ।
‘कर्णालीको भूगोल ठूलो छ, पत्रपत्रिका अझै पुग्न नसकेको दयनीय अवस्था छ ।’ उनले भने, ‘जनताको आवाज बोल्ने रेडियोको क्षमता विकास गर्न सकिएको छैन ।’ मन्त्री रावलले कर्णालीको विकास सँगसंगै पत्रकारहरु पनि समृद्ध बन्दै जाने अपेक्षा गरे ।
कार्यक्रममा वन तथा वातावरण, उद्योगमन्त्री नन्दसिंह बुढा, भौतिक पुर्वाधार मन्त्री खड्कसिंह खत्री, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीलगायतले शुभकामना मन्तब्य दिएका थिए ।