काठमाडौं, ९ जेठ – आलिया भट्ट सन् २०१६ मा ऋषि कपूरका साथ फिल्म कपूर एन्ड सन्समा देखिएकी थिइन् । उनले ऋषिसँग थप काम गर्ने इच्छा व्यक्त गरेकी छन् ।
आजकल आलियाको अफेयर ऋषि कपूरका छोरा रणवीरसँग रहेको खुबै चर्चा हुने गरेको छ । ऋषि कपूरले गरेको ट्वीटबाट पनि मानिसहरू आलिया रणवीरको बिहेको कुरा झिकिरहेका छन् ।
खासमा ऋषिले भट्ट परिवारसँग काम गरेको सन्दर्भ कोट्याउँदै उनीहरू सबैलाई धन्यवाद दिए । उनले लेखे, ‘मैले सबभन्दा प्रतिभाशाली भट्ट परिवार (र उनीहरूका नातेदार) सँग काम गरेको छु । सबैलाई धन्यवाद ।’
ऋषि कपूरको ट्वीटमा आलियाले दिएको रिप्लाईलाई मानिसहरूले उनको सम्भावित बिहेका रूपमा हेरेका छन् । आलियाले लेखिन्, ‘हा हा, गजब । आशा छ, हामी सबै फेरि सँगै काम गर्नेछौं । यसपाली हामी सबै साथै हुन पनि सक्छौं ।’
ऋषि र आलियाको थ्रेडलाई मानिसहरू रणवीर–आलिया बिहेको कन्फर्मेसनका रूपमा लिइरहेका छन् ।
आलिया र रणवीरले फिल्म ब्रह्मास्त्रको शूटिङ शुरु गरेदेखि नै दुवैको अफेयरको खबर उडिरहेको हो । दुवैलाई डिनर डेटमा देखिएको पनि छ । सोनम कपूरको बिहेमा दुवैले एकसाथ प्रवेश गरेकोलाई पनि मानिसले ध्यान दिएर हेरे ।
एजेन्सी