१० असार २०८३, बुधबार

एबी डिभिलियर्सले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास

एबी डिभिलियर्सले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास

काठमाडौं, ९ जेठ – दक्षिण अफ्रिका क्रिकेट टोलीका पूर्वकप्तान एबी डिभिलियर्सले आफूमा ऊर्जा बाँकी नरहेको भन्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएको घोषणा गरेका छन् । 

यी ३४ वर्षीय खेलाडीले दक्षिण अफ्रिकाका लागि ११४ वटा टेस्ट म्याच, २२८ वटा अन्तर्राष्ट्रिय एकदिवसीय र ७८ वटा टीट्वान्टी क्रिकेट खेलिसकेका छन् । 

‘मैले खेल्नु खेलिसकें । इमान्दारीपूर्वक भन्नुपर्दा म थाकेको छु,’ उनले भने । 

‘यो गाह्रो निर्णय हो । मैले यसका बारेमा लामै समयसम्म सोचें । राम्रो क्रिकेट खेल्दै गर्दा संन्यास लिनु ठीक हो ।’

डिभिलियर्सले इंग्ल्यान्डविरुद्ध सन् २००४ मा टेस्ट शृंखलामा अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए । त्यसको एक वर्षपछि उनले सीमित ओभरका अन्तर्राष्ट्रिय खेल खेले ।

उनले दक्षिण अफ्रिकाका लागि टेस्टमा आठ हजार ७६५ रन बनाएका छन् र टेस्ट तथा एकदिवसीय दुवैमा ५० भन्दा माथिको औसमत कायम गरेका छन् । 

टेस्ट क्रिकेटमा सर्वाधिक छिटो शतक बनाउने कीर्तिमान उनको नाममा छ । उनले सन् २०१५ को जनवरीमा वेस्ट इन्डिजविरुद्ध ३१ बलमा शतक बनाएका थिए । 

उनी अन्तिमपटक जोहानेसबर्गमा खेलेका थिए । उक्त खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई ४९२ रनले हराएको थियो । 

उनले कहिलेकाहीँ विकेटकीपिङ पनि गरेका छन् । उनी हालसालै इन्डियन प्रिमियर लीगमा रोयल च्यालेन्जर्स बंगलोरका लागि खेलेका थिए । 

डिभिलियर्सले भिडियो सन्देश पठाएर विदेशी टीमका लागि नखेल्ने बताएका छन् । तर दक्षिण अफ्रिकामा घरेलु क्रिकेटका लागि आफू उपलब्ध हुने उनले बताए ।

बीबीसीबाट
 

salt training

कमेन्ट गर्नुहोस्