
काठमाडौँ, १० जेठ - सिन्धुली, उदयपुर, धनुषा र सिरहा जिल्ला भई बग्ने कमला नदीको सिरहा उत्तरायणी क्षेत्रमा पाँच हजार वर्ष पुरानो सभ्यताको इतिहास फेला परेको दाबी गरिएको छ । कमला उत्तरायणी क्षेत्र प्रदेश १, २, र ३ को सङ्गमस्थल हो ।
धार्मिक मान्यतानुसार भगवान् कृष्ण र वलरामका बुबा नन्दवावा त्यसबेला कंशले दुःख दिएको अवस्थामा वृज्रवासीहरू ९ लाख गाईसहित त्यस क्षेत्रमा आई बसोबास गरेको अध्ययनले औंल्याएको छ । जुन स्थानबाट गाईहरू प्रवेश गरेका हुन् त्यसको नाम ‘गौद्वार’ भनिएकोमा अहिले गोदार भन्ने गरिन्छ ।
कमला नदीको किनार धनुषा क्षेत्रमा पर्दछ । खिर पकाएर खाएको ठाउँलाई खिरयानी र दूध जम्मा गरेको ठाउँलाई दुधौली भनिएको स्थान अहिले पनि त्यही नामले सिन्धुली जिल्लामा परिचित छ ।
यस क्षेत्रको महत्वलाई बोध गरी कमला उत्तरायणी क्षेत्रको धार्मिक र पर्यटकीय क्षेत्रको विकास गर्ने उद्देश्यले कमला उत्तरायणी वृहत्तर क्षेत्र विकास समिति जगतगुरु वालसन्त मोहनसरण देवको संरक्षकत्वमा स्थानीय तहमा गठन गरिएको छ, आजको गोरखापत्रमा खबर छ ।