
काठमाडौं, १० जेठ– नवगठित नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको पहिलो बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ ।
बिहिबार साँझ करीब तीन घण्टा बसेको केन्द्रीय कमिटी बैठकमा मनोनयन गरिएका केन्द्रीय समितिका सदस्यहरुको सपथका साथै एकआपसमा सामान्य परिचय भएको थियो ।
नवनियुक्त केन्द्रीय सदस्यहरुलाई पार्टी अध्यक्ष प्रचण्डले सपथ खुवाएका थिए भने अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशनात्मक मन्तब्य राखेका थिए ।
आफ्नो मन्तब्यका क्रममा प्रधानमन्त्री ओलीले आर्थिक समृद्धि र जनताको हित हुनेगरी काम गर्न निर्देशन दिएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।
बैठकमा सहभागि हुने केन्द्रीय सदस्यहरु पार्टीको सर्कुलरअनुसार सक्कल नागरिकता र त्यसको फोटोकपी लिएर बालुवाटार पुगेको पनि ती केन्द्रीय सदस्यले जानकारी दिए ।
निर्वाचन आयोगमा दल दताए प्रयोजनका निमित्त पार्टीलाई सक्कल नागरिकता बमोजिम फोटोकपि बुझाइएको उनको भनाई छ ।
नेकपाले ४४१ सदस्सीय केन्द्रीय समिति बनाएपनि आजको बैठकमा सबैको सहभागिता नरहेको बताइएको छ । एक साताअघि तत्कालिन एमाले र माओवादी केन्द्रबीच एकता भएर नेकपा बनेको हो । सो पार्टीले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएपनि आधिकारिता भने पाउन बाँकी रहेको छ ।