
काठमाडौं, ११ जेठ – अमेरिकाका अश्वेत फिल्म कलाकार मोर्गन फ्रीम्यानले आफूविरुद्ध लागेको यौन दुर्व्यवहारको आरोपका लागि माफी मागेका छन् ।
फ्रीम्यानविरुद्ध आठ महिला तथा अन्य मानिसले यौन दुर्व्यवहारको आरोप लगाएका थिए ।
सीएनएनको रिपोर्टअनुसार, एक प्रोडक्सन असिस्टेन्टले बैंक चोरीसम्बन्धी कमेडी फिल्म गोइङ इन स्टाइलको शूटिङका बेलामा फ्रीम्यानले आफूलाई दुर्व्यवहार गरेको बताइन् ।
उनका अनुसार, ८० वर्षीय फ्रीम्यानले उनलाई धेरैचोटि छोए, उनको स्कर्ट उठाउने कोशिश गरे र अण्डरवेयर लगाएकी छौ कि छैनौ भनी सोधे ।
‘कसैलाई असहज वा अपमानजनक अनुभव गराएकोमा’ फ्रीम्यानले माफी मागेका छन् ।
उनले एक बयान जारी गर्दै भने, ‘मलाई चिन्ने वा मसँग काम गर्नेलाई थाहा छ, म कसैलाई जानीबुझिकन कसैको अपमान गर्ने वा उसलाई असहज बनाउने खालको मान्छे होइन ।’
हलिउडका ठूला निर्माता हार्भे वाइनस्टाइनमाथि कैयौं अभिनेत्रीहरूले यौन दुर्व्यवहारको आरोप लगाएपछि ह्याशट्याग मीटू अभियान चलेको थियो । त्यसमा संसारका धेरै देशका महिलाले आफूमाथि भएका दुर्व्यवहारलाई खुलासा गरेका थिए ।
सन् २०१३ को फिल्म नाय यू सी मीमा काम गर्ने एक महिलाले बताएअनुसार, फ्रीम्यान वरिपरि छन् भने ‘ठूलो गला भएको टप, छोटो कपडा र टाइट कपडा नलगाउन’ सबैले भन्ने गरेका थिए ।
मोर्गनले महिलाहरूको स्तनलाई घुरेर हेर्ने गरेको पनि बताइन्छ ।
बीबीसीबाट