काठमाडौं, ११ जेठ – बलिउडको हट कपल दीपिका पादुकोण र रणवीर सिंहको बिहेको खबर धेरै अघिदेखि नै चर्चामा छ । दुवैले लामो समयदेखि एकअर्कासँग च्याट गरिरहेको भएपनि खुलेर कहिलेपनि सम्बन्धका बारेमा बोलेनन् ।
तर अहिले सार्वजनिक भएको खबरअनुसार, दीपिका र रणवीरको बिहेको मिति पक्का भएको छ । फिल्मफेयर पत्रिकाले यी दुईबीच १९ नोभेम्बरमा बिहे गर्ने लेखेको छ ।
दीपिका र रणवीरका मातापिताले बिहेको तयारी शुरु गरिसकेको बताइएको छ । तर उनीहरू आफैंले आधिकारिक घोषणा नगरेसम्म बिहे त्यही मितिमा हुन्छ भन्न सकिने स्थिति छैन ।
यसै वर्षको मार्च महिनामा रणवीर र दीपिकाले कुनै ठाउामा गएर बिहे गर्ने खबर आएको थियो अनि बिहेमा दक्षिण भारतीय तथा पञ्जाबी रीतिरिवाज दुवै पालन गरिने समेत लेखिएको थियो ।
दीपिका र रणवीर एकअर्कालाई खुबै मन पराउँछन् । सामाजिक सञ्जालमा दुवैको एकअर्काप्रतिको प्रेम झल्किरहेको हुन्छ । दीपिकाले हालै एक अन्तर्वार्तामा रणवीरलाई बेस्सरी प्रशंसा गरेकी थिइन् । उनी ऊर्जाशील, असल र ठूलो मुटु
भएका मानिस भनी दीपिकाले बताएकी थिइन् ।
उता रणवीर पनि दीपिकाको तस्वीर आफूसमक्ष राखेर मनका कुराहरू सुनाइरहेका हुन्छन् ।
दीपिका अब शाहरुख खानको फिल्म जिरोमा देखिनेछिन् भने रणवीर चाहिँ सिम्बा फिल्मको तयारीमा छन् ।
एजेन्सी