
काठमाडौं, १२ जेठ– प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारका १०० दिनलाई सामान्य गति दर्जन विसंगति भनेर टिप्पणी गरेको छ । कांग्रेसले वर्तमान सरकारले सय दिनमा केही गर्न नसकेको निचोड निकालेको छ ।
वाम सरकारको सय दिनको समीक्षासहित कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार एक भिडियो सन्देश जारी गर्दै पार्टीको धारणा सार्वजनिक गरेका हुन् । भिडियो सन्देशमा ओली सरकारको गतिलाई सामान्य भनिएको छ ।
शर्माले सरकारका १०० दिनलाई आफ्नो पार्टीले निरुत्साहित ढंगले टिप्पणी गर्न नचाहेको भन्दै सरकारका कमीकमजोरी औँल्याएर ऐना जस्तै देखाउनु प्रतिपक्ष दलको कर्तव्य भएको बताएका छन् । कांग्रेसले ओली सरकारको सय दिनमा दर्जन भन्दा धेरै विसंगति थोपरेको निचोड निकालेको छ ।
सांसदको सपथ नै नखाई प्रधानमन्त्रीको सपथ खाने कामबाटै ओली सरकारले विसंगतिको सुरुवात गरेको आरोप कांग्रेसले लगाएको छ । कांग्रेसले संविधान संशोधनबारे पनि ओली सरकारले दोहोरो भूमिका खेलेको आरोप लगाएको छ ।
आफ्नो सरकार हुँदा राष्ट्रिय सभा सदस्यमा सिफारिस गरिएकाहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदन नगर्नुमा पनि वाम सरकारकै हात रहेको भन्दै यसलाई पनि अर्को गल्ती भनेको छ ।
कांग्रेसले सरकारले १२ गल्ती गरेको जनाएको छ । देश संघीयतामा गइसकेको अवस्थामा अधिकारको बिनियोजन गर्ने निर्णयलाई लत्याउँदै सम्पत्ति शुद्धिकरण विभाग र राष्ट्रिय अनुसन्धान विभागसहितलाई प्रधानमन्त्रीको कार्यालय मातहतमा राख्नु गल्ती भएको प्रवक्ता शर्माले बताए ।
देशको वास्तविक आर्थिक अवस्था देखाउनुपर्ने श्वेतपत्र नकारात्मक सूचकसहित प्रस्तुत गरिएको, सर्वोचच अदालत ३ महिनादेखि नेतृत्वविहीन अवस्था राखिएको, कर्णाली प्रदेशबाहेक अरु प्रदेशको अझैसम्म नामाकरण नभएको भन्दै कांग्रेसले सरकारको आलोचना गरेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा सरकारले जे जस्तो चित्र देखायो, त्यसले उग्र राष्ट्रवादको खण्डन गरेको, कर्मचारीहरुमाथि जथाभावी प्रहार गर्ने काम भएको र सबै नेपालीलाई कम्युनिस्ट देख्नु सरकारको अर्को गल्ती भएको कांग्रेसले औल्याएको छ ।
सभामुख र उपसभामुख फरक फरक दलको हुनुपर्ने भन्दै सर्वोच्चमा रिट
सर्वोच्च अदालतमा प्रतिनिधि सभा र प्रदेश सभाका सभामुख र उपसभामुख फरक फरक राजनीतिक दलका हुनुपर्ने माग गर्दै रिट दायर गरिएको छ । अधिवक्ता अच्युत खरेलले अहिले प्रतिनिधि सभा र प्रदेश सभामा एउटै पार्टीको सभामुख र उपसभामुख भएकाले त्यो संविधान विपरीत भएकाले पुनः निर्वाचन गरेर फरक फरक दलको सभामुख र उपसभामुख हुनुपर्ने माग राख्दै शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई रिट निवेदन दर्ता गराएको सर्वोच्चका सहप्रवक्ता नगेन्द्रप्रसाद कालाखेतीले जानकारी दिए ।
रिट निवेदनमा अधिवक्ता खरेलले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकता पछि बनेको नवगठित दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को मात्र अहिले प्रतिनिधि सभा र ६ वटा प्रदेश सभामा सभामुख र उपसभामुख भएको र त्यो संविधान विपरीत भएकाले उत्प्रेरणको आदेशमार्फत अलग अलग पार्टीको हुनुपर्ने माग गरिएको छ ।
विवादपछि द्रुतमार्गको ‘जिरो किलो’ फेरिँदै
राष्ट्रिय गौरवको काठमाडौँ–तराई–मधेश द्रुत राजमार्गको खोकनास्थित यसअघि प्रस्तावित प्रस्थानविन्दु फेरिने संकेत देखिएको छ । स्थानीयवासीबाट सम्बोधन नै गर्न नसकिने मुआब्जा माग, तीव्र राजनीतीकरण र पुरातात्विक सम्पदाका कारण प्रस्थानविन्दुबारे लामो विवाद भएपछि तेस्रो विकल्पमा सहमति भएको हो ।
एशियाली विकास बैंकले गरेको सम्भाव्यता अध्ययन प्रतिवेदनमा राजमार्गका लागि रेखांकन गरिएको क्षेत्रमा सिकाली मन्दिर र कुदेशजस्ता पुरातात्विक सम्पदा परेपछि स्थानीय जनताबाट विरोध भएको थियो । विरोधपछि दोस्रो विकल्पका रूपमा नेपाली सेनाले सिकाली र कुदेश क्षेत्रमा दुई किलोमिटर क्षेत्रमा राजमार्गका लागि पुनःरेखाङ्कन गरी मन्दिर र कुदेशलाई संरक्षण गर्ने विकल्प प्रस्तुत गरे पनि मुआब्जा विवाद भने कायमै थियो ।
ढुंगेललाई आममाफी दिनेबारे लिखित जवाफ माग
सर्वोच्च अदालतले ज्यान मुद्दामा सजाय भोगिरहेका पूर्वसांसद बालकृष्ण ढुंगेललाई आममाफी दिनुपर्ने कारणसहित लिखित जवाफ पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ ।
न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले ज्यान मुद्दामा सजाय भोगिरहेका ढुंगेललाई आममाफी दिनुपर्ने कारणबारे १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश जारी गरेको हो । आदेशमा दुवै पक्षलाई यही जेठ १३ गते छलफलका लागि उपस्थित हुन भनिएको छ ।
सरकारले गणतन्त्र दिवसका अवसरमा ज्यान मुद्दामा सजाय भोगिरहेका ढुंगेललाई आममाफी दिन गरेको निर्णय रोक्न माग गर्दै अधिवक्ता दिनेश त्रिपाठीले बिहीबार सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।
गोरेको बयान जारी
सुन तस्करी तथा सनम शाक्यको हत्याको अभियोगमा पक्राउमा परेका चुडामणि उप्रेती (गोरे)को जिल्ला अदालत मोरङमा आज पनि बयान जारी रह्यो । सो प्रकरणको मुख्य अभियुक्त मानिएका गोरेसँग शुक्रबार चार घण्टाभन्दा बढी समयसम्म बयान लिइएको र आइतबार बयान सकिने सम्भावना रहेको अदालतका निमित्त स्रेस्तेदार केदारप्रसाद गौतमले जानकारी गराए ।
बयान सकिएपछि थुनछेकको बहस प्रारम्भ हुनेछ । जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको रोहवरमा गत बुधबारदेखि शुरु भएको गोरकोे बयान आज सम्ममा २७ पृष्ठमा पुगेको बुझिएको छ ।
कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशन शुरु
कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशन शुक्रबारदेखि शुरु भएको छ । बैठकमा प्रदेशसभा सदस्य गुलाबजंग शाह र सीता नेपालीले अब बजेट अधिवेशन शुरु भएको बताउँदै संघीय गणतन्त्रलाई कार्यान्वयन गर्न कानूनको अभाव रहेको बताए ।
प्रतिपक्षी दल नेपाली काँग्रेसका सचेतक हिमबहादुर शाहीले दैलेखमा ६० प्रतिशत जनताका जग्गा अहिले पनि ४९ गुठीमा रहेको भन्दै त्यहाँका ४० प्रतिशत दुःखी जनताका लागि प्रदेश सरकारलाई जिम्मेवार हुन सुझाए । प्रदेशसभाको अर्को बैठक आइतबार अपराह्न ३ बजे बस्नेछ ।
प्रदेशसभाको अधिवेशन आह्वान
प्रदेश नं. १ का प्रमुख डा गोविन्दबहादुर तुम्बाहाङले प्रदेशसभाको ‘बर्षे अधिवेशन’ यही जेठ १७ गते अपराह्न ३ बजे आह्वान गरेका छन् । प्रदेश सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको १८३को उपधारा (१) बमोजिम सो अधिवेशन आह्वान गरिएको प्रदेश प्रमुख कार्यालयका सचिव रामकृष्ण गुरागाईले विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।
परीक्षण उडान सफल
लामो समयदेखि बन्द रहेको अछामको साँफेबगर विमानस्थलको शुक्रबार परीक्षण उडान गरिएको छ । विमानस्थलको कालोपत्रे, रनवे लगायतको काम सम्पन्न भएपछि समिट एयरको १९ सिट क्षमताको विमानले परीक्षण उडान गरेको हो ।
तत्कालिन विद्रोही माओवादीले २०५८ फागुन ४ गते साँफेबगर विमानस्थलको टावर ध्वस्त बनाएको थियो । बीचमा केही समय विमानस्थल सञ्चालनमा आए पनि २०६२ सालदेखि पूर्णरूपमा बन्द विमानस्थल गौचरणमा परिणत भएको थियो । निर्माण जिम्मा पाएको अमर कन्स्ट्रक्सनले निर्माणको काम करिब पुरा भएको बताएको छ ।
केपीएलः रुपन्देही–११ फाइनलमा
सुर्खेतमा जारी कर्णाली प्रिमियर लिग (केपीएल) टि–ट्वेण्टी क्रिकेटको उपाधिका लागि त्रिभुवन आर्मी क्लबले रुपन्देही–११ सँगको भेट पक्का गरेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा धनगढी क्रिकेट एकेडेमीलाई ८ विकेटले पराजित गर्दै विनोद भण्डारीको कप्तानीमा रहेको आर्मीले शक्ति गौचनको कप्तानीमा रहेको रुपन्देहीसँगको भेट पक्का गरेको हो ।
टस जितेर पहिले ब्याटिंग गरेको धनगढीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ३१ रन बनायो । एक सय ३२ रनको लक्ष्य आर्मीले १७ ओभरमा मात्र २ विकेट गुमाएर भेटायो ।
शुक्रबार भएको पहिलो खेलमा मध्यपश्चिम क्रिकेट क्लबलाई पराजित गर्दै रुपन्देही–११ फाइनल प्रवेश गरेको छ । फाइनल खेल शनिबार विहान साढे ९ बजेदेखि सुर्खेत रंगशालामा शुरु हुनेछ ।