पुरुष सहकर्मीलाई हेन्डसम भनेपछि कुवेतकी एक समाचार बाचिका बर्खास्तीमा परेकी छिन् । समाचार प्रस्तोताको टिप्पणीले कुवेतको संसदमा समेत हंगामा मच्चाएको छ । तर, ती समाचार प्रस्तोताले आफ्नो भनाइ नियमित भन्दै बचाउ गरेकी छिन् ।
अल अरेबिया अंग्रेजीका अनुसार बासिमा अल सामर महानगरीय निर्वाचनको अपडेट गर्ने क्रममा अर्का एक पत्रकारसँग प्रत्यक्ष अन्तर्वार्ता लिँदा सहकर्मीलाई हेन्डसम भनेर सम्बोधन गरेकी थिइन् । अल सामरको शब्द चयनलाई केहीले अश्लील बताएको अरब न्युजले जनाएको छ ।
कुवेतको अल क्वाब्स पत्रिकाका अनुसार सांसद अल हेफले सञ्चारमन्त्रीलाई एक पत्र लेख्दै सामरलाई कारबाही गर्न माग गरेका छन् । राज्यद्वारा सञ्चालित टेलिभिजनमा समाचारवाचिकाको स्लिम अफ ट्ग्यु अर्थात् जिब्रो चिप्लएको विषय कुनै हालतमा स्वीकार्य नहुने उनले बताएका छन् । सञ्चार मन्त्रालयले पत्रकारलाई अस्थायी रूपमा निलम्बन गरेको छ ।
तर समाचारवाचिका सामरले भने आफ्नो बचाउ गरेकी छिन् । ‘कुनै व्यक्तिले राम्रोसँग पोसाक मिलाएर सफाचट बनेको छ भने उसलाई तिमी राम्रो वा हेन्डसम देखिन्छौ भन्नु सामान्य हो,’ उनले भनेकी छिन् । ‘मेरो आशय पनि त्यही हो । टाउकोमा लगाएको हेडगियर हटाउनुपर्दैन, तिमी हेन्डसम देखिन्छौ भन्नुको अर्थ पनि तिमी सुन्दर छौ भन्ने हो ।’