
सुर्खेत, १२ जेठ – रुस्लान कर्णाली प्रिमियर लिग टी–ट्वान्टी (केपीएल) को उपाधि विभागीय टोली त्रिभुवन आर्मी क्लबले जितेको छ ।
शनिबार वीरेन्द्रनगरमा सम्पन्न फाइनल खेलमा शक्ति गौचनको कप्तानीमा रहेको रुपन्देही ११ लाई ३७ रनले पराजित गर्दै आर्मीले केपीएलको पहिलो सिजनको उपाधि चुमेको हो ।
उपाधीसँगै विजेता आर्मीले नगद तीन लाख र ट्रफी प्राप्त गरेको छ भने उपविजेता रुपन्देहीले नगद एक लाख ५० हजारसहित ट्रफी पाएको छ ।
टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३२ रन जोडेको थियो ।
उसका लागि ओपनर सागर पुनले ३८, कप्तान विनोद भण्डारीले २८ र राजेश पुलामीले २२ रनको योगदान दिए । बलिङतर्फ रुपन्देहीका विकास श्रेष्ठले ३ तथा बसिर अहमद, विक्रम भुषाल र सन्दीप सुनारले १ विकेट लिए ।
१३३ रनको लक्ष्य पछ्याएको रुपन्देही भने १७ ओभर ५ बलमा अलआउट हुँदै ९५ रनमै समेटियो ।
रुपन्देहीका लागि निश्चल चौधरीले २६, सन्दीप सुनारले २४, कप्तान शक्ति गौचनले १७ र सौरभ खनालले १६ रनको योगदान दिए पनि जितका लागि पर्याप्त बन्न सकेन ।
बन्धु विकास सहकारी संस्थाले आयोजना गरेको केपीएलमा १० वटा टोली सहभागी थिए ।