०५ असार २०८३, शुक्रबार

मुख्य समाचार : ‘गोरे’ पुर्पक्षका लागि जेल चलान, झुक्याएर मिर्गौैला झिकी प्रत्यारोपण गर्ने पक्राउ

मुख्य समाचार : ‘गोरे’ पुर्पक्षका लागि जेल चलान, झुक्याएर मिर्गौैला झिकी प्रत्यारोपण गर्ने पक्राउ

काठमाडौं, १४ जेठ–स्वेच्छिक अवकाशमा जानका लागि निवेदन दिएका कर्मचारीमध्ये कुनै कर्मचारीले चाहेमा आवेदन फिर्ता लिन सक्ने भएकाछन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले त्यस्ता कर्मचारीले चाहेको अवस्थामा आवेदन फिर्ता लिन दिने व्यवस्था गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए ।

बैठकले संघीय संसद्मा पेश भएको सरकारको आर्थिक वर्ष २०७५÷०७६ नीति तथा कार्यक्रमलाई संसद्बाट सर्वसम्मतरुपमा पारित गराउन सहयोग गर्ने सांसदहरुलाई धन्यवाद दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकले प्रसिद्ध साहित्यकार गोपालप्रसाद रिमालको नाममा राष्ट्रिय पुरस्कार स्थापना गर्ने निर्णय गरेको सूचना प्रविधि राज्यमन्त्री एवं सरकारका प्रवक्ता बाँस्कोटाले बताए ।

बैठकले नेपाल सरकार र गणतन्त्र कोरिया सरकारबीच श्रम समझदारीपत्रलाई नवीकरण गर्ने निर्णय गरेको छ भने श्रम नियमावली–२०७५ लाई स्वीकृत गर्ने निर्णय भएको छ ।

सरकारले विसं २०७४ साउन ८ गते चितवन जिल्लाको इच्छाकामना गाउँपालिका वडा नं ६ को चारकिलो भन्ने स्थानमा पहिरो हटाउनेक्रममा निधन भएका चारजना प्रहरीका परिवारलाई जनही रु १० लाख आर्थिक सहयोग दिने पनि निर्णय गरेको छ ।

साथै, बैठकले शिक्षाको अधिकारसम्बन्धी विधेयक र संघीय शिक्षा विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति दिने निर्णय गरेको सरकारका प्रवक्ता बाँस्कोटाले जानकारी दिए ।

निती तथा कार्यक्रम पारित
सरकारको आर्थिक वर्ष २०७५÷७६ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ७ गते संसदका दुवै सदनमा पेश गरेको नीति तथा कार्यक्रम सर्वसम्मतिबाट पारित भएको हो ।

नीति तथा कार्यक्रम पारित भएपछि सरकारलाई बजेट ल्याउने बाटो खुलेको छ । सरकारले आगामी जेठ १५ गते मंगलवार आर्थिक बर्ष २०७५÷०७६ को बजेट ल्याउने तयारी गरेको छ ।

यसअघि संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिका लागि सरकारले नीति तथा कार्यक्रम ल्याउँदा विपक्षी कांग्रेसले विरोध गर्ने औचित्य नदेखिएको बताए । प्रधानमन्त्री ओलीले पानी जहाज, रेललगायतका महत्त्वाकांक्षी विकास योजनालाई मजाकको विषय बनाइएको भन्दै पर्खन आग्रह गरे ।

लोडसेडिङ आधारभूतरुपमा अन्त्य भएको, छिमेकी संगको सम्बन्धमा असाधारण सुधार आएको, विराटनगरबाट अस्थायी फिल्ड अफिस हटाइएको, तस्करी नियन्त्रण गर्न सरकार सफल भएको प्रधानमन्त्रीको भनाई छ ।

गोरे पुर्पक्षका लागि कारागार चलान
सुन तस्करी प्रकरण र सनम शाक्यको हत्याको मुख्य आरोपी मानिएका चुडामणि उप्रेती ‘गोरे’लाई आइतबार पुर्पक्षका लागि कारागार चलान गरिएको छ । 

जिल्ला अदालत मोरङले चार दिनसम्म गोरेसँगको बयानपछि थुनछेकको वहसको क्रममा जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद शर्माको इजलासमा उनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेशपछि कारागार पठाइएको हो ।

गत बुधबारदेखि शुरु भएको बयान हिजोसम्म अर्थात चारदिनमा गोरेसँग ३७ पृष्ठको बयान लिइएको छ । उनीसँग सुन तस्करी, सांगठनिक अपराध र हत्यालगायतको विषयमा बयान लिइएको हो ।

सुन तस्करी, सङ्गठित अपराध र हत्याको अभियोगमा ६३ जनामाथि मुद्दा दर्ता भएको थियो । सो अभियोगमा पक्राउमा परेका ३० जनामध्येबाट २८ जनालाई जेठ ८ गते कारागार चलान गरिएको छ । 

आर्थिक सर्वेक्षण
अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा चालू आव २०७४÷२०७५ को आर्थिक सर्वेक्षण प्रस्तुत गरेका छन् । संसदमा प्रस्तुत गरेको सर्वेक्षणअनुसार चालू आर्थिक वर्षको  मूल्यवृद्धि ६ प्रतिशत रहने देखिएको छ । 

आर्थिक वृद्धिदर चालू आर्थिक वर्षको ८ महिनामा ५.८३ प्रतिशत रहेकोमा आर्थिक वर्षको अन्त्यसम्ममा ५.८९ रहने उल्लेख छ । आर्थिक सर्वेक्षणअनुसार जिडिपीको १५ प्रतिशत रकम बचत रहेको छ । अर्थ मन्त्री खतिवडाले ६० लाख भन्दा बढी गरिवीको रेखामूखि रहेको जानकारी दिँदै जिडिपीको १५ प्रतिशतले बचत रहेको बताए ।

सेयर बजार स्थिर रहेको र सेयर बजारमा ७५ प्रतिशत हिस्सा बैकिङ क्षेत्रका कम्पनीले ओगटेको सर्वेक्षणमा उल्लेख छ । नेपालीको प्रतिव्यक्ति ऋण अघिल्लो वर्षको तुलनामा १९ प्रतिशतले बढेर करिब २९ हजार पुगेको छ । नेपालीको प्रतिव्यक्ति ऋण २८ हजार ९ सय ६३ पुगेको सरकारले जनाएको छ ।

रोकिएन दाङको झाडापखाला
दाङको शान्तिनगर गाउँपालिकाका दुई वडामा घरपिच्छे झाडापखालाका बिरामी भएका छन् ।  मुहानको दूषित पानीले शनिबारबाट फैलिएको प्रकोप आइतबार साँझसम्म पनि नियन्त्रणमा आएको छैन । 

स्थानीय स्वास्थ्यचौकीका अनुसार आइतबार साँझसम्म बिरामीको संख्या १ हजार २ सय २१ पुगेको छ । शनिबार रातिसम्म ४ सय १९ बिरामी रहेकामा आइतबार ८ सय २ जना थपिएको जानकारी शान्तिनगर स्वास्थ्यचौकी प्रमुख हरि पुनले दिए ।

गणतन्त्र दिवसमा प्रदेश ५ मा सार्वजनिक बिदा
प्रदेश नं ५ का १२ जिल्लामा जेठ १५ गते गणतन्त्र दिवसका दिन सार्वजनिक बिदा दिइने भएको छ । गणतन्त्र दिवसको दिन प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको प्रदेशको आन्तरिक तथा कानून मन्त्रालयले सूचना प्रकाशन गरी जानकारी दिएको छ ।

गणतन्त्र दिवसको अवसरमा सोमबारदेखि तीन दिनसम्म विभिन्न संघ, संस्थाको समन्वयमा विभिन्न कार्यक्रम आयोजना हुने पनि बताइएको छ । यसैबीच, २ नं प्रदेश सरकारले गणतन्त्र दिवस भव्यताका साथ मनाउने निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले गणतन्त्र दिवसलाई भव्यता प्रदान गर्न मुख्यमन्त्री लालबाबु राउतको संयोजकत्वमा २१ सदस्यीय मुल समारोह समिति गठन गरिएको छ । 

यार्सागुम्बा संकलन गर्न गएका तीनजनाको मृत्यु
डोल्पामा यार्सागुम्बा संकलन गर्न गएका तीनजनाको शनिबार लेक लागेर मृत्यु भएको छ भने एकजनाको उद्धार गरिएको छ । डोल्पाको ठूलीभेरी नगरपालिका वडा नं १० मा पर्ने ग्यालवारा पाटन पुगेका त्रिपुरासुन्दरी नगरपालिका–१०, लिकुका ३० वर्षीय नारायणप्रसाद पहाडीको लेक लागेर मृत्यु भएको हो । 

त्यस्तै, डोल्पोबुद्ध गाउँपालिकाको धो ताक्सी पाटन पुगेका जाजरकोट नलगाड नगरपालिका–८ खगेनकोट का १५ वर्षीय भद्रबहादुर चनाराको पनि लेक लागेर मृत्यु भएको छ । उनीहरुलाई लेक लागेपछि उपचारका लागि दुनैतर्फ ल्याउँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । 

त्यसैगरी, काइके गाउँपालिकाको सुन्दरे शेर्पा आधारभूत विद्यालय टुप्पाताराका शिक्षक शेरबहादुर राना झाँक्रीको पनि यार्सागुम्बा टिप्न ठाँगे पाटनतर्फ जाँदै गरेको बेला लेक लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रदेशः २ मा नेकपाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
प्रदेश २ सरकारलाई विश्वासको मत दिएको नेपाल कम्युनिस्ट पार्टीले समर्थन फिर्ता लिएको छ । सरकारको १०० दिनको उपलब्धिहीन रहेको र प्रतिपक्षीको मानमर्दन गरेको भन्दै तत्कालीन एमाले र माओवादी केन्द्र एकीकरण भएर बनेको नेकपाले समर्थन फिर्ता लिएको हो । 

एक सय सात सदस्य रहेको प्रदेशसभामा एमालेका २१ को र माओवादी केन्द्रको ११ गरी एकीकृत भएको नेकपाका जम्मा ३२ सांसद रहेका छन् भने काँग्रेसका १९ सांसद रहेका छन् ।

गत जेठ ३ गते काँग्रेसलाई प्रमुख विपक्षी दलका रुपमा मान्यता दिएपछि एमाले र माओवादी केन्द्रले उक्त निर्णयप्रति असन्तुष्टी जनाउँदै आएको छ । 

झुक्याएर मिर्गौैला झिकी प्रत्यारोपण गर्ने पक्राउ
मानसिक रोगको औषधि सेवन गरिरहेको एक युवकको मिर्गौला झिकेर आफूलाई प्रत्यारोपण गर्ने एक जनालाई महानगरीय प्रहरी परिसर भक्तपुरले पक्राउ गरेको छ । 

प्रहरीले मोरङ विराटनगर उपमहानगरपालिका–१ स्थायी घर भई हाल भक्तपुर नगरपालिका–१ मा डेरा गरी बस्ने ५१ वर्षीय थर्कबहादुर बस्नेतलाई पक्राउ गरेको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसार्इंले जानकारी दिए । 

गत वैशाख १० गते भक्तपुरस्थित शहीद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रमा काभ्रेपलाञ्चोक साविक टुकुचा गाविस वडा नं ९ घर भई हाल बनेपा नगरपालिका–२ बस्ने २९ वर्षीय कुमार गिरीलाई झुक्याएर मिर्गौला निकाली अभियुक्त बस्नेतलाई प्रत्यारोपण गरिएको प्रहरीको भनाइ छ ।

कर्णाली सरकारका सय दिन
कर्णाली प्रदेश सरकारले राजधानी वीरेन्द्रनगर सुर्खेतमा पत्रकार सम्मेलन गरी १०० दिन कार्यकालको कार्य प्रगति सार्वजनिक गरेको छ । गत फागुन ६ मा सरकारले पूर्णता पाएसँगै कर्णाली प्रदेश सरकारले १०० दिनमा केही महत्वपूर्ण काम भएको जनाएको छ । 

प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संविधानमा उल्लेख भएबमोजिम निर्माण गर्नुपर्ने प्रदेश कानूनका सम्बन्धमा कर्णाली प्रदेश मन्त्रिपरिषद्ले नियमावली, आचारसंहिता र निर्देशिका स्वीकृत गरेको बताए ।

‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने राष्ट्रिय अभियानलाई सफल बनाउन यसबीचमा प्रदेशलाई दीर्घकालसम्म सकारात्मक असर पार्ने खालका महत्वपूर्ण निर्णय भएको उनले बताए । प्रदेश सरकार गठन भई कार्य प्रारम्भ गर्दा कमजोर भौतिक अवस्था, न्यून जनशक्ति, स्रोतसाधनको कमी जस्ता व्यवस्थापकीय चुनौतीका बीचबाटै मन्त्रिपरिषद्ले विभिन्न नीतिगत, कार्यगत र संरचनागत व्यवस्था गरेको उनको भनाइ थियो ।

आईपीएलको उपाधि चेन्नई सुपर किङ्सलाई
चेन्नई सुपर किङ्सले इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि जित्न सफल भएको छ । गएराति मुम्बईमा भएको फाइनल भिडन्तमा सनराइजर्स हैदरबादले दिएको १७९ रनको चुनौती चेन्नईले ९ बल बाँकी छँदै २ विकेटको क्षतिमा भेट्टाएको हो ।

चेन्नईलाई उपाधि दिलाउन शेन वाट्सनले विस्फोटक पारी खेले । उनले नटआउट रहँदै ५७ बलमा ११७ रन बनाए । आईपीएलको फाइनलमा सतक बनाउने पहिलो खेलाडी पनि वाट्सन बनेका छन् । 

उपाधि भिडन्तका क्रममा टस हारेर पहिले ब्याटिङमा उत्रेको सनराइजर्स हैदराबादको टीमले २० ओभरमा ६ विकेट गुमाउँदै १७८ रन बनाएर चेन्नई सुपर किङ्सलाई १७९ रनको चुनौती दिएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्