
सुर्खेत, १४ जेठ- दैलेखको गुराँस गाउँपालिका वडा नम्बर ८ मा रहेको मालिका माध्यमिक विद्यालयमा २ दिन यता छात्राहरुमा वेहोस हुने समस्या देखा परेको छ ।
उक्त विद्यालयमा अध्ययनरत छात्राहरु रुने, चिच्चाउने टाउको दुख्ने अनि बेहोस भएर ढल्ने गरेका छन् । छात्रामा यस्तो समस्या अकस्मात देखा परेपछि स्थानीय अच्चममा परेका छन् । यस्तो समस्या छात्राहरुमा मात्र देखा परेको छ । ‘एउटा अचम्मै देख्नु परेको छ ’–त्यस विद्यालयका प्रधानाध्यापक भक्त बहादुर बस्नेतले भने– ‘यस्तो अहिलेसम्म देखेका थिएनौं । घरबाट सन्चै आएका विद्यार्थीहरु विद्यालय आइसकेपछि रुने चिच्चाउने, काँप्ने र बेहोस भएर ढल्ने गरेका छन् ।’ उनले थपे ‘शुक्रबारदेखि समस्या देखिएको हो । शुक्रबार दुइजनामा भएको समस्या आज आइतबार ५ जनामा देखा परेको उनले बताए ।
विद्यार्थीहरुमा यस्तो समस्या देखिन थालेपछि अविभावकको सहयोगमा गाउँपालिका स्वास्थ्य शाखाबाट डाक्टरहरु बोलाइएको बस्नेतले बताए । कक्षा ८, ९ र १० का छात्राहरुमा यो समस्या देखिएको उनले बताए । बिरामी पर्ने छात्राहरुमा देविसरा ओली, देविसरा डागी, प्रमीला ओली हरीकला खड्का र यमुना सुनार रहेको बताइएको छ ।
बिरामी परेका छात्राहरुको उपचारमा गएका धरमपोखरा स्वास्थ्य चौकीका अ.हे.व सुर्य बहादुर थापाले अहिले गर्मी अत्याधिक बढेका कारण यो समस्या देखा परेको हुन सक्ने बताए । उनले विरामी परेका छात्राहरु १५ बर्षदेखि माथीका रहेको र कहिलेकाँही महिनावारी गडबड भएपनि यस्तो समस्या देखा पर्न सक्ने बताए ।
तर उनले अहिले उपचारको लागि आफुहरुसँग केहि साधन नभएको भन्दै उपचार गर्न कठिनाई भएको बताए । छात्राहरुमा देखिएको यो समस्या छिट्टै समाधान गर्न विद्यालय प्रशासनले सम्बन्धीत निकायको ध्यानाकर्षन समेत बनाएको छ ।