१५ असार २०८३, सोमबार

किन मर्दैन फेसबूक ?

किन मर्दैन फेसबूक ?

काठमाडौं, १४ जेठ – विगत केही वर्षयता सामाजिक सञ्जाल साइट फेसबूक अनेकौं विवादमा परेको छ । कहिले विज्ञापन, कहिले न्युज फीडमा हेरफेरका कारण फेसबूक विवादमा परिरहन्छ । 

हालै फेसबूकले आफ्ना प्रयोगकर्ताको निजी जानकारी उनीहरूको अनुमति विना व्यापारिक प्रयोजनका लागि प्रयोग गरेको कुरा उठ्यो । उसले उक्त जानकारी तेस्रो पक्षलाई प्रयोग गर्न दिएको थियो । 

यस्ता विवाद आएपिच्छे फेसबूकको मृत्यु हुँदैछ भन्ने दाबी गरिए ।

तर यो असम्भव देखिएको छ । 

अघिल्लो महिना फेसबूकका सीईओ मार्क जुकरबर्ग अमेरिकी संसद्को समितिसमक्ष कडा प्रश्नहरूको उत्तर दिँदै थिए । 

जुकरबर्गले अमेरिकी सांसदहरूलाई फेसबूकका कारण पश्चिमी देशको लोकतन्त्रलाई खतरा नरहेको बताए । अनि आफ्ना प्रयोगकर्ताहरूको निजी जानकारीमा लापरवाही पनि नगरेको उनको भनाइ थियो । 

सुनुवाइका बेलामा जुकरबर्गले फेक न्युजलाई रोक्न आवश्यक कदम नउठाएको चाहिँ माने । फेसबूकले अन्य देशको चुनावमा हस्तक्षेप रोक्न तथा डाटा लीक रोक्नका लागि सफल कदम नउठाएको पनि बताए । 

गत मार्च महिनामा बेलायतको राजनीतिक सल्लाहकार कम्पनी क्याम्ब्रिज एनालाइटिकाले फेसबूकका प्रयोगकर्ताहरूको निजी जानकारी उनीहरूको अनुमतिविना प्रयोग गरेको खुलेको थियो । 

यो विवाद उठेपछि संसारभरि निकै ठूलो हल्लाखल्ला भएको थियो । त्यसपछि फेसबूकले आफ्नो गल्ती मानेर काम गर्ने तरिकामा सुधार ल्याउने वाचा गरेको थियो । 

अमेरिकी संसद्पछि जुकरबर्गले युरोपेली संघको संसद्को पनि सामना गरे । उनले अमेरिकामा भन्दा बढी अप्ठ्यारो प्रश्नको सामना गरेका थिए । युरोपले आफ्ना नागरिकहरूको निजी जानकारी सुरक्षित गर्नका लागि जनरल डेटा
प्रोटेक्सन रेगुलेसन पनि शुक्रवारदेखि लागू गरेको छ । 

फेसबूक जस्तै खालका माइस्पेस कम्पनीहरू बन्द भए तर तमाम विवाद भएपनि फेसबूक कसरी बाँचिरहेको छ ? भोलिपर्सि फेसबूकको हालत पनि माइस्पेस जस्तो हुन्छ त ?

हुँदैन । 

फेसबूक किन सफल भयो भने यसले सही समयमा र सही स्थानमा इन्टरनेटको संसारमा आफ्नो व्यापार शुरु ग–यो । 

अक्सफोर्ड इन्टरनेट इन्स्टिच्युटका बर्नी होगन भन्छन्, ‘माइस्पेस वा फ्रेन्डस्टरको असफलताको कारण साधारण थियो । त्यतिखेर त्यसको समय नै आएको थिएन । कुनै पनि व्यापार सफल हुनका लागि त्यसको उत्पादन समयको
माग हुनुपर्छ ।’

सामाजिक सञ्जाल त्यतिखेरको माग थिएन । अनि फेसबूकको सफलताका लागि आवश्यक प्रविधि विकसित पनि भएको थिएन । 

आज फेसबूक जुन इन्जिनियरिङबाट चल्छ, फ्रेन्डस्टरको जमानामा त्यो प्रविधि थिएन । तर सन् २००४ सम्म आउँदा इन्टरनेटको गतिमा तीव्रता आयो । वेबसाइटको कोडिङ राम्रो हुँदै गयो । 

फ्रेन्डस्टर र फ्रेन्ड्स रियुनाइटेड जस्ता कम्पनीहरूले जुन प्राविधिक चुनौती सामना गर्नुप–यो, फेसबूकलाई त्यसबाट फाइदा भयो । 

फेसबूकअघिका सामाजिक सञ्जाल कम्पनीहरू बजारमा आउँदा मानिस आफ्नो निजी जानकारी सार्वजनिक मञ्चमा राख्न आनाकानी गर्थे । उनीहरूलाई इन्टरनेटमा पनि शंका थियो । 

सन् १९९० को दशकमा मानिसलाई इन्टरनेटमा आफ्नो पहिलो नाम नबताउनू पनि भनिन्थ्यो । तर अहिले जमाना सेल्फी र ओभरशेयरिङको हो । 

एक्काईसौं शताब्दीमा फेसबूकले सिलिकन भ्यालीबाट राम्रो र समर्थ आईटी इन्जिनियरलाई जागिर दियो । 

त्यसैले फेसबूकले यस्तो संरचना बनाउन सक्यो जसले तीव्रताका साथ बढिरहेका ग्राहक अर्थात् युजर बेसको माग र आवश्यकतालाई पूरा गर्न सक्छ । 

जस्तो, फेसबूकको न्युज फीड सुविधाको कुरा गर्नुस् । यसले आफैं काम गर्दैन । 

यसका लागि फेसबूकका इन्जिनियरहरूले तमाम आँकडाहरूबाट यस्तो सिस्टम तयार गरेका हुन्छन्, जसले तपाईंको साथीको सबभन्दा राम्रो र तपाईंलाई मन पर्ने अप्डेट तपाईंलाई दिन्छ ।

अनि फेसबूकको सफलतामा मोबाइल फोनले पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ । सस्ता स्मार्टफोनहरूका कारण हरेक व्यक्ति अहिले इन्टरनेटको पहुँचमा छ । 

मोबाइलको बजार बढ्दै जाँदा फेसबूक पनि सफलताको राजमार्गमा बत्तियो । 

मनोवैज्ञानिकहरूले फेसबूकबाट मानिसको एक आधारभूत आवश्यकता पनि पूरा हुन्छ । त्यसैले यसको मृत्युको भविष्यवाणी गर्नु गलत हुन्छ । 

हरेक मानिस एकअर्कासँग जोडिन चाहन्छ । आफ्ना खुशी, दुःख, सफलता, प्रसिद्धि र उपलब्धिहरू अरूसँग बाँड्न चाहन्छ । फेसबूकले यो आवश्यकतालाई पूरा गर्छ । 

फेसबूकबाट हट्नका लागि ह्याशट्याग डिलिटफेसबूक जस्ता अभियान पनि चले । तर प्रयोगकर्ताहरू फेसबूकमा फर्किए । 

अमेरिकाको विस्कन्सिन विश्वविद्यालयकी प्राध्यापक क्याटालानिया टोमाका अनुसार, फेसबूक छोडेर जाने लगभग सबै मानिस फर्केर आएका छन् । 

कारण प्रस्ट छ । फेसबूकले मानिसमा रहेको एकअर्कासँग जोडिने आधारभूत इच्छालाई पूरा गर्छ । 

बीबीसीबाट

salt training

कमेन्ट गर्नुहोस्