
काठमाडौं, १६ जेठ – सिंगापुरले विश्वमा एकदम छोटो समयमा विकासको उदाहरणीय कथा लेखेको छ ।
यो देश स्वतन्त्र हुँदा उससँग गरीबीबाट छुटकारा दिलाउने कुनै पनि कुरा थिएन । न उससँग खेतीयोग्य जमीन थियो, न त खनिज सम्पदा नै । धेरैजसो जनसंख्या झोपडपट्टीमा बस्थ्यो ।
तर अहिले यो देशको ऐश्वर्यको कुरा गर्दा त्यहाँका मानिसको औसत तलब संसारमै तेस्रो नम्बरमा छ ।
सिंगापुर कुनै समयमा बेलायती साम्राज्यअन्तर्गत पर्थ्यो । त्यहाँ बेलायती सेना भारी संख्यामा तैनाथ थिए । तर सन् १९४२ मा जापानले बेलायतलाई बेइज्जत तरिकाले हरायो ।
पछि सन् १९४४–४५ मा अमेरिकी विमानहरूले जापानको कब्जामा रहेको सिंगापुरमा आक्रमण गरे ।
सिंगापुरलाई अहिलेको समृद्ध स्थितिमा ल्याउन ली क्वान यूको ठूलो हात छ । सन् १९२३ को सेप्टेम्बर १६ मा जन्मेका ली एक चिनियाँ आप्रवासी परिवारको तेस्रो पुस्ताका छोरा थिए ।
सिंगापुरको अंग्रेजी स्कूलमा पढेका लीको स्टाइल पनि अंग्रेजकै जस्तो थियो । उनलाई बालख हुँदा नै ह्यारी ली भनी बोलाइन्थ्यो ।
जापानले सिंगापुर कब्जा गर्दा लीको पढाइ प्रभावित भयो । तर युद्ध सकिएपछि उनले लन्डन स्कूल अफ इकोनोमिक्स र क्याम्ब्रिज विश्वविद्यालयबाट पढाइ गरे ।
विद्यालय जीवनदेखि नै समर्पित समाजवादी रहेका ली सिंगापुर फर्केर एक प्रमुख ट्रेड युनियन वकिल बने ।
सन् १९५४ मा उनले पिपुल्स एक्सन पार्टी स्थापना गरें र त्यसको पहिलो महासचिव बने । उनी ४० वर्षसम्म त्यस पदमा बसे ।
पीएपीले सन् १९५९ को चुनावमा बहुमत पायो र सिंगापुरलाई अंग्रेजको नियन्त्रणबाट मुक्त गरेर स्वशासित राज्य बनाए ।
सन् १९६५ मा वैचारिक द्वन्द्व र जातीय समूहहरूबीचको संघर्षपछि सिंगापुर स्वतन्त्र देश बन्यो ।
बर्सौंसम्म बेलायती साम्राज्य, जापानी कब्जा र मलेसियाको प्रभुत्वमा रहेपछि सिंगापुर स्वतन्त्र हावामा सास लियो ।
तर यो देशलाई विकासको बाटोमा हिँडाउनका लागि केही स्रोत थिएन ।
धेरैजसो मानिस झुपडीमा बस्थे ।
विश्व बैंकको एक रिपोर्टअनुसार, सन् १९६५ मा सिंगापुरको प्रतिव्यक्ति जीडीपी ५१६ अमेरिकी डलर थियो र लगभग आधा जनसंख्या अशिक्षित थियो ।
तर सिंगापुरले सन् १९६० देखि १९८० सम्ममा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादनमा १५ गुणाले वृद्धि गरेर कीर्तिमान बनायो ।
सिंगापुरका पूर्वप्रधानमन्त्री ली क्वा यूले इजरायलले जस्तो सिंगापुरलाई पनि बुर्कुसी मारेर नजिकैका अन्य देशलाई पछि छोड्न र बहुराष्ट्रिय कम्पनीलाई आकर्षित गर्न पर्छ भन्ने सोच राखेका थिए । 
तर एक बर्बाद र सानो देशबाट चम्किलो भवनले भरिएको मुलुक बन्ने प्रक्रियामा सिंगापुरका मानिसले ठूलो मूल्य चुकाएका छन् ।
सिंगापुर सरकारले जनसंख्या नियन्त्रणका लागि दुई बच्चाभन्दा बढी जन्माउने परिवारलाई कर लगाउन शुरु ग–यो ।
अनि भ्रष्टाचारको समस्या हटाउनका लागि सिंगापुरमा कडा कानून बनाइयो ।
सिंगापुरभरि शानदार सडक र राजमार्ग बनाइयो जसले गर्दा यातायात सुगम भयो ।
सिंगापुरको विकासमा यसको भौगोलिक स्थितिको पनि ठूलो हात छ ।
यो मलक्का स्ट्रेटको मुहानमा अवस्थित छ जहाँबाट संसारको ४० प्रतिशत समुद्री व्यापार हुन्छ जसले गर्दा देशले बेस्सरी कमाउँछ । यसको १९० किलोमिटर लामो तटीय रेखामा अनेकौं बन्दरगाह छन् ।
लीको सरकारले शुरुदेखि नै सिंगापुरमा रहेको मिश्रित जनसंख्यालाई शिक्षित बनाउन र मानव संसाधनमाथि पैसा खर्च गर्न थाल्यो ।
सिंगापुरलाई संसारको आर्थिक केन्द्र मानिन्छ किनकि त्यहाँका बैंकहरूले विश्वस्तरीय सेवा दिन सक्छन् ।
सिंगापुर सरकारका अनुसार, सन् २०१७ मा एक करोड ७४ लाख अन्तर्राष्ट्रिय पर्यटकहरूले सिंगापुर भ्रमण गरेका थिए जुन सिंगापुरको जनसंख्याको तीन गुणा हो ।
सिंगापुरको सफलताको कुरा झिक्दा लीको एउटा भनाइ याद गरिन्छ ।
लीले एकचोटि भनेका थिए, ‘आखिर मैले के पाएँ ? एक सफल सिंगापुर ! यसका लागि मैले के दिएँ ? मेरो जीवन !’
सिंगापुरमा फैलिएको भ्रष्टाचार अन्त्य गर्नका लागि लीले नयाँ नयाँ उपाय अपनाए र रोजगारी उपलब्ध गराउनका लागि कम लगानीमा आवास र औद्योगिकीकरण कार्यक्रम शुरूआत गरे ।
उनले सिंगापुरको बहुसंस्कृतिवादको आधारमा एक अलग पहिचान बनाउने कोशिश गरे । यसका लागि उनले विभिन्न जातीइ समूहलाई जोडे ।
बीबीसी हिन्दीबाट