काठमाडौं १६ जेठ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले मंगलवार सार्वजनिक गरेको आर्थिक वर्ष २०७५/०७६ को बजेट हावादारी र कर्मकाण्डी भएको निष्कर्ष निकालेको छ । कांग्रेसले संसदमा बजेटको आलोचना गर्ने निर्णय समेत गरेको छ ।
समसामयिक राजनीतिक घटनाक्रम र बजेटको समीक्षा गर्न संसदीय दलको कार्यालय सिंहदरवारमा बुधवार बसेको कांग्रेस संसदीय दलको बैठकले सरकारले ल्याएको बजेट कार्यान्वयनको आधार नभएको निष्कर्ष निकालेको हो ।
पूर्वअर्थमन्त्री डा. रामशरण महतसहित बसेको संसदीय दलको बैठकमा नेताहरूले बजेट कार्यान्वयनको आधार नभएको निष्कर्ष निकालेका हुन् ।
बैठकपछि नेता बालकृष्ण खाणले बजेट हावादारी भएको कांग्रेसको निष्कर्ष रहेको बताए ।
'बजेट आम नागरिकको आशाअनुरूप आउन सकेन । यसले स्पष्ट प्राथमिकतासहित योजनावद्धरूपमा आर्थिक विकास र समृद्धिको बाटोमा अघि बढ्ने अवसर गुमाएको छ,' बैठकपछि कांग्रेसले जारी गरेको विज्ञप्तिमा भनिएको छ- 'स्रोत साधनले धान्न सक्नेभन्दा प्राथमिकताविहीन कार्यक्रमको फेहरिस्त प्रस्तुत गरेको छ । स्रोत साधनका लागि बाह्य निर्भरता थप बढ्ने देखिन्छ ।'
कम्युनिष्ट सरकार चुनावमा आफैंले गरेको प्रतिवद्धता कार्यान्वयनमा इमान्दार नभएको आरोप पनि कांग्रेसको छ ।
निजी क्षेत्रको लगानी हतोत्साहित गर्ने उद्देश्य बजेटले राखेको कांग्रैसको आरोप छ । रोजगारी, कृषि र पर्यटन क्षेत्रमा बजेटमा उल्लेखित लक्ष्य प्राप्त गर्न आवश्यक ठोस योजना र कार्यक्रम नभएको आरोप पनि उसले लगाएको छ ।
'समग्रमा देश, प्रदेश र स्थानीय तहको बजेटलाई ध्यानमा राख्ने हो भने राजश्वको लक्ष्य निकै महत्वकांक्षी छ । नेपाली जनतालाई कर र ऋणको बोझ बोकाउने यो बजेटले सत्तासिन कम्युनिस्ट पार्टीका कार्यकर्तालाई भरणपोषण गर्ने रणनीति लिएको स्पष्ट छ । आम नागरिकलाई लगानीका लागि अभिप्रेरित गर्ने र नयाँ रोजगारीको अवसर जुटाउनेभन्दा आमनागरिकलाई निराशजनक तुल्याएको छ । जनताको हित र अधिकारका लागि नेपाली कांग्रेसले दृढतापूर्वक आफ्नो धारणा राख्ने छ,' विज्ञप्तिमा भनिएको छ ।
बैठकमा कांग्रेस नेताहरूले सरकारको गलत आर्थिक नीतिका कारण वैदेशिक लगानी भित्रिन कठिन हुने टिप्पणी गरेका थिए ।
८ प्रतिशत आर्थिक वृद्धिको अपेक्षासहित अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलवार संसदमा १३ खर्ब १५ अर्ब बराबरको बजेट पेश गरेका थिए । बजेटको सिद्धान्तमाथि संसदमा बिहीवारदेखि छलफल गर्ने कार्यसूची छ ।
कांग्रेसले तत्कालीन माओवादी केन्द्रका नेता एवं पूर्वसांसद बालकृष्ण ढुङ्गेलको कैद माफी दिने सरकारको निर्णयविरुद्ध सदनमा कडारूपमा प्रस्तुत हुने निर्णय समेत गरेको छ ।