
काठमाडौं, १७ जेठ– सामाजिक संस्था किवानिज क्लब अफ हिमालय नेपालले ललितपुर १४ लोहाचोक स्थित श्री चोइना विना गुरु गणेश आधारभूत विद्यालयमा शैक्षिक सामाग्रीको सहयोग गरेको छ ।
संस्थाले उक्त विद्यालयमा करिब साठी हजार रुपैयाँ बराबरको पाठ्यपुस्तक कपी कलम, लुगा लगायतका सामाग्रीहरु सहयोग स्वरुप प्रदान गरेको हो ।
किवानिज क्लब अफ हिमालय नेपालस्थानीय युवाहरुको पहलमा स्थापित स्वयंसेवी संस्था हो । बालबालिकाको सेवा गर्ने उद्देश्य बोकेर स्थापना भएको उक्त संस्थाले शिक्षा, स्वास्थ्य र नेतृत्व विकासको क्षेत्रमा विगत केही वर्षदेखि कार्य गरिरहेको र हाल त्यसकै निरन्तरता स्वरुप विद्यालयमा सहयोग प्रदान गरेको क्लबका अध्यक्ष युवराज न्यौपानेले बताए ।
किवानिज इन्टरनेशनल नेपालका केन्द्रिय सचिव श्री लक्ष्मण लम्साल र क्षेत्रगत प्रमुख श्री तीर्थ कुमार सिंह, किवनिज क्लब हिमालय नेपालका कोषाध्यक्ष श्री रोशन तिमिल्सिना लगायतले किवनिज क्लब विश्वव्यापी संजाल भएको स्वयंसेवी संस्था भएतापनि नेपालमा नितान्त आफ्नै सामुहिक पहलमा स्रोत साधन संकलन गर्दै विभिन्न सामाजिक अभियानमा किवनिज क्लवहरु अग्रसर रहेको कुरा अवगत गराए ।
विशेषगरी बाल मजदुर, घरेलु कामदार एवं विपन्न वर्गका विद्यार्थीहरु पठन पाठन गर्ने उक्त विद्यालयका करिब ६५ जना विद्यार्थीले पाठ्य सामग्री, स्टेशनरी, स्कुल पोशाक लगायतका सहयोग किवानीज क्लब अफ हिमालयले प्रदान गर्दै आएको प्रति आभार व्यक्त गर्दै भविष्यमा पनि यस्तै किसिमको कार्यले विद्यार्थीहरुमा पठ्न पाठ्न प्रति हौसला मनोबल बढ्ने कुरा प्रति आफू निश्चिन्त भएको विद्यालयका प्रधानध्यापक सर्वश्वलाल चौधरीले बताए ।