३१ जेठ २०८३, आइतबार

ट्रम्प र किमको भेटघाटअघि दुई कोरियाबीच उच्च वार्ता

ट्रम्प र किमको भेटघाटअघि दुई कोरियाबीच उच्च वार्ता

काठमाडौं, १८ जेठ – अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ–उनबीच १२ जुनमा सिंगापुरमा हुने ऐतिहासिक शिखर वार्ताभन्दा अघि दुवै कोरियाले उच्चस्तरीय वार्ता गरेका छन् ।

उत्तर र दक्षिण कोरियाबीचको यो वार्ता मेको शुरूआतमा हुनुपर्ने थियो तर अमेरिका र दक्षिण कोरियाबीच वायुसेना अभ्यासबाट रिसाएको उत्तरले वार्ता रद्द गरिदिएको थियो ।

संयुक्त सैन्य अभ्यास म्याक्स थन्डर २५ मेमा समाप्त भएको एक दिनपछि नै उत्तर कोरियाका नेता किमले दक्षिण कोरियाका राष्ट्रपति मून जे–इनलाई भेटेर सबैलाई छक्क पारिदिएका थिए । दुवै नेताबीच असैन्यीकृत क्षेत्रमा यो दोस्रो
भेटघाट थियो । पहिलो ऐतिहासिक भेटवार्ता दुवैका बीच अप्रिलमा भएको थियो ।

दक्षिणका एकीकरणमन्त्री चो माङ–ग्युनले वार्ताअघि भनेअनुसार दुवै नेताद्वारा गरिएका सम्झौतालाई शीघ्र एवं सुचारु रूपमा कार्यान्वयन गर्नका लागि प्रक्रिया अघि बढाइनेछ । अमेरिका र उत्तर कोरियाको शिखर वार्ताका लागि
सकारात्मक वातावरण बनाउने प्रयास पनि गरिनेछ ।

यसैबीच अमेरिकामा परराष्ट्रमन्त्री माइक पम्पिओ र उत्तर कोरियाका वरिष्ठ अधिकारी किम योङ–चोलबीच वार्ता भइरहेको छ । ट्रम्प र किमबीचको शिखर सम्मेलनको तयारीको सिलसिलामा दुवैले कुराकानी गरेका हुन् ।

उता अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाको आणविक निःशस्त्रीकरणमा छिटो सफलताको सम्भावना कम रहेको बताएका छन् । यसका लागि उत्तरसँग अनेकौं बैठक गर्नुपर्ने उनको भनाइ छ ।

आणविक निःशस्त्रीकरणको लक्ष्यमा पुग्नका लागि १२ जुनको बैठकले गति दिने उनले आशा गरेका छन् । 

उत्तर कोरियाको एक प्रतिनिधिमण्डलले किमको पत्र लिएर ट्रम्पसँग भेटघाट गरे ।

निःशस्त्रीकरण एकैचोटिमा गर्नुपर्ने अमेरिकाको मागले उत्तरलाई क्रुद्ध बनाएको थियो । पछि उसले कोरियाली प्रायद्वीपको चरणबद्ध निःशस्त्रीकरणमा सहमति जनाएको थियो । दक्षिण कोरिया र जापानलाई सुरक्षा दिने अमेरिकी
आणविक घेरालाई समाप्त गर्ने माग पनि उत्तरले राखेको छ ।

एजेन्सी 
 

salt training

कमेन्ट गर्नुहोस्