वासिंगटन, २८ माघ-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लामो समयको मौनता तोड्दै आफ्नो दृष्टिकोणसहित चिनियाँ राष्ट्रपति सी जिनपिङलाई पहिलो प्रत्यक्षपत्र पठाएका छन् । जिनपिङलाई पत्र पठाउँदै उनले आफूले चीनसँग रचनात्मक सम्बन्ध चाहेको उल्लेख गरेका छन्, आजको राजधानीले खबर छापेको छ ।

राष्ट्रपतिको पदभार ग्रहण गरेपछि उनले विश्वका विभिन्न देशका राष्ट्र तथा सरकारप्रमुखसँग टेलिफोन वार्ता गरे पनि विश्वको शक्तिशाली राष्ट्र चीनसँग अहिलेसम्म कुराकानी गरेका थिएनन् । पत्रमा उनले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई आफू राष्ट्रपतिमा निर्वाचित भएकामा बधाई दिएकोमा धन्यवाद दिएका छन् ।
चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता लु काङले यस पत्रलाई चीनले महत्वका साथ लिएको बताएका छन् । चीनले अमेरिका र चीनबीच युद्ध भएमा दुवैलाई फाइदा नहुने भन्दै सहकार्य नै दुवै देशको विकल्प भएको बताएको छ ।
ट्रम्पले चिनियाँ लुनार नयाँ वर्षको अवसरमा शुभकामनासमेत दिएका छन् । चीनले जनवरी २८ मा मनाएको नयाँ वर्ष र शनिबार मनाउन लागेको लान्टेर्न पर्वका अवसरमा ट्रम्पले पत्रमार्फत शुभकामना दिएका हुन् । सोही दिन चीनको नयाँ वर्ष मनाउने कार्यक्रम औपचारिक रूपमा सम्पन्न भएको मानिन्छ ।
उनले पठाएको पत्रमा चीनले रचनात्मक सम्बन्ध विकास गरेको हेर्न चाहेको र यसबाट दुवैलाई फाइदा हुने जनाएका छन् । यसअघि सिड्नीमा रहेका चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले पनि अमेरिका र चीन लडेमा दुवैलाई नोक्सान हुने बताएका थिए ।