
काठमाडौं, २५ जेठ– जनप्रतिनिधिहरू आफूखुसी गैरसरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको खर्चमा हप्तैपिच्छे विदेश भ्रमणमा जान थालेपछि सरकारले त्यस्तो भ्रमणमा रोक लगाएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले महानगर, उपमहानगर, नगर र गाउँपालिकाका प्रमुख–उपप्रमुख, वडाध्यक्ष र कर्मचारीको विदेश भ्रमणमा रोक लगाएको हो ।
संघीय मामिलामन्त्री लालबाबु पण्डितले विदेशमा हुने स–साना कार्यक्रममा पनि जनप्रतिनिधिको ओइरो लाग्न थालेपछि भ्रमणमा रोक लगाइएको जानकारी दिए । स्थानीय तहका प्रतिनिधिको विदेश भ्रमणसम्बन्धी कार्यविधि सामान्य प्रशासन मन्त्रालयले राय–सुझावका लागि कानुन र परराष्ट्र मन्त्रालयमा पेस गरेको छ ।
आफैं निर्णय गर्दै विदेश भ्रमणमा जाने गरेको थाहा पाएपछि मन्त्रालयले त्यसो नगर्न सबै स्थानीय तह र जथाभावी भिसा नदिन दूतावास र कन्सुलर कार्यालयलाई पत्राचारसमेत गरेको छ । पत्रपत्रिकामा खबर छ ।
नेकपाले कानूनी मान्यता पायो
नेपाल कम्युनिष्ट पार्टी (ने क पा) ले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको छ । गएको जेठ ३ गते घोषणा भएको पार्टीले बिहीबार औपचारिकता पाएको हो । ने क पा १४५ औं नम्बरमा आयोगमा दर्ता भएको छ ।
आयोगले नेकपाले मागेबमोजिम चिह्न र झण्डा पनि प्रदान गर्ने निर्णय गरेको छ ।
गोपाल खड्काद्वारा राजीनामा
नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले राजीनामा दिएका छन् । जग्गा खरिदमा भ्रष्टाचार गरेको आरोप लागेपछि मन्त्रालय तानिएका खड्काले बिहीबार पत्रकार सम्मेलन गरेर राजीनामाको घोषणा गरेका हुन् ।
राजीनामाको घोषणा गर्दै खड्काले आफ्नो कार्यकालको ६ महिना बाँकी हुँदै निगमका लागि बाटो खुला गरेको बताए ।
धर्म प्रचारक संस्था नवीकरण नहुने
सरकारले राष्ट्रिय गैरसरकारी संस्था (एनजीओ) तथा अन्तराष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) को अनुगमन र नियमनमा कडाइ गर्ने भएको छ । गृहमन्त्रालयमा बिहीबार गृहमन्त्री रामबहादुर थापा र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापासहित दुवै मन्त्रालयका पदधिकारीको बैठकले एनजीओ/आईएनजीओको निगरानी बढाउने निर्णय गरेको हो ।
यस्तै बैठकले भ्रष्टचारमा मुछिएका, राजनीतिक गतिविधिमा संलग्न, धर्म प्रचार जस्ता कार्यमा संलग्न एनजिओ/आईएनजिओको दर्ता नवीकरण नगर्ने निर्णय गरेको छ । बैठकले ७७ वटै जिल्लाबाट ती जिल्लामा सञ्चालित एनजिओ/आईएनजिओको विवरण र गतिविधि पठाउन जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।
कांग्रेस केन्द्रीय समितिमा ३ जना मनोनित
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीन जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् । सभापति देउवाले लमजुङका दिलबहादुर घर्ती, काभ्रेपलाञ्चोकका शिव हुमागाईं र दाङकी शिला खड्कालाई केन्द्रीय सदस्यमा मनोनित गरेको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
तीन दलसँग नेकपाको एकता पहल
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले विचार र कार्यशैलीमा तुलनात्मक रुपमा नजीक संघीय समाजवादी फोरम नेपाल, नयाँ शक्ति पार्टी, नेकपा (क्रान्तिकारी–माओवादी) लगायत पार्टीसँग एकताका लागि अनौपचारिक वार्ता शुरु गरेको छ ।
विकास, समृद्धि, सुशासन र समाजवादोन्मुख लक्ष्यमा केन्द्रित हुँदै दुई तिहाइको सरकार बनाएको नेकपाले पार्टीलाई क्रमशः बृहत् बनाएर राष्ट्र निर्माणमा एकीकृत हुन पहल गरिरहेको छ ।
नेकपा स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले नेत्रविक्रम चन्द नेतृत्वको नेकपा र नारायणमान बिजुक्छे नेतृत्वको नेपाल मजदूर किसान पार्टीबाहेक राजमोलगायत सबै कम्युनिष्ट पार्टी ढिलो चाँडो एकतामा आउने ठोकुवा गरे ।
राजपालाई आयोगको पत्र
निर्वाचन आयोगले राष्ट्रिय जनता पार्टी नेपाललाई आगामी असार ३० सम्म महाधिवेशन गरिसक्न पत्र पठाएको छ । आयोगले राजपाको विधानको धारा २२ (१०) मा उल्लेखित एक वर्षभित्र महाधिवेशन गरिनेछ भन्ने प्रावधानलाई टेकेर महाधिवेशन गर्न निर्देशन दिएको हो ।
२०७३ असार ३० को निर्णयले पार्टी एकीकरण भएको र सो मितिको एक वर्षभित्र महाधिवेशन गरी आयोगलाई जानकारी गराउन आयोगले निर्देशनात्मक आदेश दिएको हो ।
प्रदेश २ सरकारको नीति तथा कार्यक्रम
प्रदेश २ सरकारले आगामी आर्थिक वर्षमा ५० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ । बिहीबार प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले आगामी वर्षहरुमा विद्युत उत्पादन वृद्धि गर्दै जाने लक्ष्य प्रदेश सरकारले लिने बताए ।
नीति तथा कार्यक्रममा प्रदेश सहकारी विकास बोर्ड, प्रदेश उखु विकास बोर्ड, डेरी विकास बोर्ड, मत्स्य विकास बोर्ड, तरकारी तथा फलफुल विकास बोर्ड क्रमशः गठन गर्दै जाने नीति लिने उल्लेख गरेको छ ।
प्रदेश नं ३ः पेट्रोलबाट चल्ने सवारी साधन निषेध गरिने
प्रदेश नं ३ को बिहीबार बसेको प्रदेशसभा बैठकले प्रदेश सरकारको आव २०७५÷०७६ को नीति तथा कार्यक्रमलाई बहुमतले पारित गरेको छ ।
बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलले नीति कार्यक्रममाथि प्रदेशसभाका सदस्यले उठाएका जिज्ञासाको जवाफ दिँदै प्रदेश नं ३ मा निजी क्षेत्र र सरकारको साझेदारीमा करीब १०० मेगावाट विद्युत् उत्पादन गर्ने रणनीतिका साथ सरकारले लगानीको वातावरण तयार गरी कार्यान्वयन गर्ने बताए ।
मुख्यमन्त्री पौडेलले आगामी २०८५ साल वैशाख १ गतेसम्म काठमाडौँं उपत्यकालगायत चितवन, मकवानपुर, सिन्धुली, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र रसुवा क्षेत्रमा हल्का सवारी साधनको चाप बढ्दै जाँदा पैदल यात्रुलाई आगमनमा कठिनाइ हुनाका साथै वातावरण प्रदूषित हुने भएकाले ती क्षेत्रमा पेट्रोलबाट चल्ने हल्का एवं हेभी सवारी साधनलाई निषेध गर्ने र विद्युतीय सवारी साधानलाई उच्च प्राथमिकताका साथ सञ्चालनमा ल्याउने सरकारको प्रमुख योजना रहेको बताए ।
बीपी राजमार्गमा ठूला गाडी गुडाउन पुनः रोक
बीपी राजमार्गमा ठूला गाडी गुडाउन आजदेखि पूर्णरुपमा रोक लगाइएको छ । बनेपादेखि बर्दिबाससम्मको राजमार्गमा ठूला सवारी साधन सञ्चालन नगर्न सर्वोच्च अदालतले आदेश दिएको थियो ।
सर्वोच्च अदालतले बीपी राजमार्गमा ठूला गाडीलाई इजाजत दिने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेपछि ठूला सवारी साधन प्रवेशमा रोक लगाइएको प्रजिअ ज्ञानप्रसाद ढकालले जानकारी दिए ।
प्रदेश नं २ को सरकारलाई दिएको समर्थन कायमैः राजपा
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले प्रदेश नं २ को सरकारलाई दिएको समर्थन यथावत् रहने स्पष्ट पारेको छ । राजपा अध्यक्ष मण्डलको बिहीबारको बैठकले प्रदेश नं २ को सरकारकाविरुद्ध कुनै पनि प्रकारले अनावश्यक टिप्पणी नगर्न सम्पूर्ण पार्टीपंक्तिलाई निर्देशन दिइने निर्णय गरेको छ ।
मुख्यमन्त्री हटलाईन सेवा
कर्णाली प्रदेशमा हेल्लो मुख्यमन्त्री हटलाईन सेवा शुरुभएको छ । जनताका समस्या र गुनासा सुन्न मुख्यमन्त्री हटलाईन सेवा शुरु भएको हो । पैसा नलाग्ने नम्बर १०५६ मा फोन गरेर गुनासा भन्न सकिने छ ।
कर्णाली प्रदेशको समृद्धि, विकास र शुसासनका लागि नागरिकको पनि सहभागिता हुन जरुरी रहेको भन्दै कर्णाली प्रदेशले प्रत्यक्ष रुपमा जनताका समस्या, गुनासा र उजुरी प्राप्त गर्न यो सेवा शुरु गरेको हो ।
अठार बालबालिकाको उद्धार
नेपाल प्रहरीले भारतीय सीमा सुरक्षा बल (एसएसबी) को सहयोगमा छ नाबालिका र १२ बालकसहित १८ बालबालिकाको पश्चिमी नाका गड्डाचौकीबाट उद्धार गरेको छ ।
इप्रका गड्डाचौकीका प्रमुख प्रहरी नायब निरीक्षक डिकरदेव पन्तले भारत लैजाँदै गरेका बालबालिकासहित उक्त कार्यमा संलग्न दुई जनालाई नियन्त्रणमा लिइएको बताए । बिहीबार उद्धार गरिएका बालबालिका अछामको ढकारी गाउँपालिका–७ का रहेको प्रहरीले जनाएको छ ।
‘म्याच फिक्सिङ’ को आरोप लागेका खेलाडीलाई सफाइ
म्याच फिक्सिङ प्रकरणमा अभियुक्त बनेका राष्ट्रिय फुटबल समूहका तत्कालीन कप्तान सागर थापासहित ६ जनालाई विशेष अदालतले सफाइ दिएको छ ।
विशेष अदालतका अध्यक्ष तथा न्यायाधीश बाबुराम रेग्मी, न्यायाधीश प्रमोदकुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको इजलाशले राज्यविरुद्धको अपराध मुद्दामा उनीहरुलाई सफाइ दिएको हो ।
सफाइ पाउनेमा राष्ट्रिय फुटबल समूहका तत्कालीन कप्तान थापा, खेलाडीहरु विकाससिंह क्षेत्री, रितेश थापा, सन्दीप राई, प्रशिक्षक अञ्जन केसी र फिजियोथेरापिस्ट डेजिव थापा रहेका छन् ।