काठमाडौं, २५ जेठ – ग्वाटेमालाको फुगो ज्वालामुखीमा भीषण विस्फोट भएपछि अहिलेसम्म १०९ जनाको मृत्यु भइसकेको छ भने लगभग २०० जना हराइरहेका छन् ।
उद्धारकर्मीहरूले ज्वालामुखीको चपेटामा परेका गाउँमा खोजी अभियान बन्द गरेका छन् ।
अभियान बन्द भएपछि स्थानीयहरू आफ्ना नातेदारलाई आफैं खोज्न बाध्य भएका छन् ।
राष्ट्रिय संकट एजेन्सी कोनरेडले खराब मौसम र ज्वालामुखीबाट निस्केको खरानी तातै भएकाले उद्धारकर्मीहरूलाई काम गर्न खतरनाक स्थिति रहेको बताएको छ ।
ज्वालामुखी विस्फोट भएको ७२ घन्टा बितिसकेको र अब खरानी र तातो पत्थरमा फसेका मानिस जिउँदो रहने सम्भावना अत्यन्त कम रहेको छ भनी एजेन्सीले जोड दिएको छ । राष्ट्रिय प्रहरीका प्रवक्ता पाब्लो कास्टिलोले भने, ‘हिजो
राति चर्को पानी परेपछि माटो कमजोर भएको छ ।’
एजेन्सी