काठमाडौँ, २९ माघ- तीनवटै तहको निर्वाचनका लागि निर्धारित ७ माघ, २०७४ को समयसीमा नजिकिँदै गर्दा सत्तापक्ष र प्रतिपक्षी दलका नेताको सक्रियता बढ्न थालेको छ ।संवैधानिक व्यवस्थाअनुसार तोकिएको समयभित्र निर्वाचन नहुँदा संविधान नै असफल हुने खतरा बढेको भन्दै नेताहरू संविधानले गरेको व्यवस्थाअनुसार समयभित्र निर्वाचनमा सहमति जुटाउन लागी परेका हुन् ।

आजकोु राजधानी लेख्छ- शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच निर्वाचन घोषणा गर्ने विषयमा सहमति भएको बताइएको छ । स्रोतका अनुसार माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठनिवास हात्तीवनमा प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भएको गोप्य भेटमा ८ फागुनभित्र स्थानीय निर्वाचनको मिति तय गर्ने सहमति भएको हो ।
प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीचको भेटमा स्थानीय निर्वाचन वैशाख मसान्तसम्म वा जेठको पहिलो साता गर्ने समझदारी भएको हो । बैठकमा वैशाख मसान्त वा जेठ पहिलो साता निर्वाचन गर्ने गरी मिति घोषणा भए एमालेले संविधान संशोधन विधेयकलाई संसद्मा छलफल गर्न दिन सकिने बताएको थियो ।
छलफलमा एमाले अध्यक्ष ओलीले तत्काल स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । निर्वाचन हुन नसके मुलुक राजनीतिक संकटमा फस्ने भएकाले त्यसतर्फ ध्यान दिनसमेत प्रधानमन्त्रीलाई सचेत गराइएको बैठकमा सहभागी एमाले उपाध्यक्ष भीम रावलले जानकारी दिए ।