११ असार २०८३, बिहीबार

मुख्य समाचार : फौजदारी अभियोगमा पक्राउ परेका सांसद निलम्बन नहुने, अग्रवालको घरबाट ३० लाख बरामद

मुख्य समाचार : फौजदारी अभियोगमा पक्राउ परेका सांसद निलम्बन नहुने, अग्रवालको घरबाट ३० लाख बरामद

काठमाडौं, २६ जेठ– प्रतिनिधिसभाले आपराधिक कार्यमा पक्राउ पर्ने सांसदको पद निलम्बन नहुने व्यवस्थासहितको नियमावली पारित गरेको छ । सभामुख कृष्णबहादुर महराको पहलमा शुक्रबार बिहान संसद् भवन बानेश्वरमा बसेको सर्वदलीय बैठकमा निलम्बनको प्रस्ताव नराखेर नियमावली पारित गर्ने सहमति जुटेपछि संसदमा पेश भएको नियमावली बहुमतले पारित भएको हो । 

प्रतिनिधिसभाको नियमावलीमा निलम्बनको व्यवस्था हटेपछि राष्ट्रियसभा नियमावलीमा पनि यो व्यवस्था नरहने स्पष्ट छ । निलम्बनको प्रावधान राख्ने÷नराख्ने विवादका कारण प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनका नियमावली तीन महिनादेखि रोकिएका थिए । 

दुवै सदनका नियमावली पारित पछि विषयगत र संसदीय सुनुवाई विशेष समिति गठन गर्ने बाटो खुल्नेछ । दुवै सदनको १५ सदस्यीय सुनुवाई समिति गठन नहुँदा प्रधानन्यायाधीश र अख्तियार प्रमुखको नियुक्ति रोकिएको छ । प्रतिनिधिसभामा १० वटा विषयगत समिति रहनेछन् । 

म्याद थप गरिदिन निर्वाचन आयोगसँग आग्रह
राजपा नेपालले ६ महिनाका लागि महाधिवेशनको म्याद थप गरिदिन निर्वाचन आयोगसँग आग्रह गरेको छ । असार मसान्तभित्र महाधिवेशन गरिसक्न भन्दै बिहीबार आयोगले राजपालाई पत्र पठाएसँगै शुक्रबार बसेको राजपा अध्यक्ष मण्डलको बैठकले यस्तो आग्रह गरेको हो ।

आगामी अधिवेशसनसम्मका लागि राजपाले विधान बनाउने तयारी गरेको छ । अयोगले असार ३० गते राजपालाई मान्यता दिएको थियो ।

सुन तस्करीका मुख्य लगानीकर्ता अग्रवालको घरबाट ३० लाख नगद बरामद

नेपालमा हुने सुन तस्करीका लगानीकर्ता भनिएका एमके भनिने मोहन कुमार अग्रवालको घरबाट ३० लाख रुपैयाँ नगदसहित सुन र चाँदी फेला परेको छ । 

साढे ३३ किलोसहितको ३८ क्वीन्टल सुन तस्करी र मोरङका सनम शाक्य हत्या प्रकरणका फरार अभियुक्त अग्रवालको काठमाडौंको अनामनगरस्थित घरमा छापा मार्दा नगदसहित सुन र चाँदी फेला परेको हो । 

सुन तस्करी सनम शाक्य हत्या प्रकरणको छानबिनका लागि गृह मन्त्रालयसका सह–सचिव इश्वर पौडेल नेतृत्वमा गठित समितिले शुक्रवार दिउँसो अग्रवालको घरमा छापा मारेको थियो । घरमा छापा मार्दा ३० लाख रुपैयाँ नगदसहित २ किलो चाँदी र १० तोला सुन फेला परेको गृह मन्त्रालय स्रोतले जनाएको छ । 

समितिले अग्रवालको घरबाट बा १० च २८२ नम्बरको टाटा कम्पनीको कारसमेत बरामद गरेको छ । सुनसरीको धरान उपमहानगरपालिका–३ स्थायी घर भएका अग्रवालको अनामनगरस्थित घर २ महिनादेखि खाली थियो ।

वाग्लेसहित ६ जना विरुद्ध मुद्दा दायर
नक्कली नोट दुरुपयोग गरेको आरोपमा पक्राउ परेका निर्माता माधव वाग्लेसहित ६ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ । महानगरीय प्रहरी वृत्त महाराजगगञ्जले शुक्रबार काठमाडौं जिल्ला अदालतमा खोटाचलन मुद्दा दायर गरेको हो ।

२ करोड ६२ लाख रुपैँया जरिवाना र १० वर्षसम्म कैदको सजाय माग गरी मुद्दा दायर गरिएको छ । 


नीति तथा कार्यक्रम स्वीकृत 
प्रदेश नं ७ को शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले आर्थिक वर्ष २०७५/७६ को प्रदेश सरकारको नीति तथा कार्यक्रम मन्त्रिपरिषदबाट स्वीकृत गरी प्रदेश प्रमुखमार्फत प्रदेशसभामा पेश गर्ने निर्णय गरेको छ । 

बैठकले ७ नं प्रदेशको लागि प्रदेश सहकारी विधेयक, २०७५ तर्जुमा गर्न सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता प्रकाशबहादुर शाहले बताए । त्यसैगरी बैठकले जिल्लासभा तथा जिल्ला समन्वय समिति सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ प्रदेशसभामा पेश गर्न स्वीकृत प्रदान गर्ने निर्णय गरेको छ ।

 
कोरियाली भाषा परीक्षा आजदेखि
गणतन्त्र कोरियाका लागि रोजगार अनुमति प्रणाली (इपिएस) भाषा परीक्षा शनिबार र आइतबार हुने भएको छ । परीक्षामा ८२ हजार २६४ परीक्षार्थी सहभागी हुने इपिएस भाषा परीक्षाका निर्देशक कृष्णप्रसाद खनालले जानकारी दिए । 

परीक्षा लिन कोरियाबाटै ६३ जनाको विज्ञ टोली नेपाल आइसकेका छन् । बिहान १० बजेदेखि पहिलो चरण र अपराह्न २ बजेदेखि दोस्रो चरणमा सञ्चालन हुने परीक्षामा परीक्षार्थी तोकिएको समयभन्दा एक घण्टा अगावै उपस्थित नभए परीक्षामा सहभागी हुन नपाइने जानकारी उनले बताए ।

काठमाडौँमा १६, ललितपुरमा आठ र पोखरामा चार परीक्षा केन्द्र रहने छन् । परीक्षाको जिम्मा मात्र भाषा केन्द्रले लिएको छ भने परीक्षापछि उत्तरपुस्तिका कोरियाबाटै जाँच भई छनोटको काम हुनेछ ।


प्रदेश ५ः कृषि, पर्यटन र उद्योगलाई उच्च प्राथमिकता
प्रदेश नं ५ को सरकारले आव २०७५७६ को नीति तथा कार्यक्रममा कृषि, पर्यटन र उद्योगलाई उच्च प्राथमिकता दिएको छ ।

प्रदेशसभाको शुक्रबार बसेको बैठकमा प्रदेश ५ को सरकारको नीति कार्यक्रम प्रदेश प्रमुख उमाकान्त झाले प्रस्तुत गर्दै प्रदेशअन्तर्गतका १२ वटै जिल्लाको सन्तुलित विकास गर्ने तथा प्रदेशलाई कृषि उत्पादन निर्यात गर्न सक्ने अवस्थामा पुर्याउन जलवायुअनूकुल नमूना कृषि कार्यक्रम सञ्चालन गर्ने, कृषि उत्पादनका लागि गुणस्तरीय सामग्री र कृषियन्त्र तथा औजार– उन्नत बीउबिजन– प्रविधिको विकास र विस्तारमा उच्च प्राथमिकता दिइएको बताए । 

बुटवलदेखि देवदह, रामग्राम, लुम्बिनी र कपिलवस्तुसम्म प्रदेश सरकारले पर्यटन बससेवा सञ्चालन लागि आवश्यक व्यवस्था र भैरहवा–बुटवल, नेपालगञ्ज– कोहलपुर र घोराही–तुलसीपुरमा विद्युतीय बस सेवाका लागि सम्भाव्यता अध्ययन गरिने नीति कार्यक्रममा समावेश छ ।


प्रदेश ४ः लगानीमैत्री वातावरण सिर्जना गरिने
प्रदेश नं ४ को प्रदेशसभा बैठकमा आज प्रस्तुत आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममा लोकतान्त्रिक प्रणाली र प्रक्रियाबाट प्रदेशमा सुशासन, विकास र समृद्धि ल्याइने जनाइएको छ । 

बैठकमा प्रदेश प्रमुख बाबुराम कुँवरले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेशको विकास र समृद्धि हासिल गर्न नागरिक अधिकार, सबैलाई समान अवसर र मजबुत सुरक्षा नीति अपनाइने बताए । 

प्रदेशमा लगानीमैत्री वातावरण सिर्जना गरिने तथा पर्यटन, ऊर्जा, कृषि, उद्योग र भौतिक पूर्वाधार विकासलाई आर्थिक इञ्जिनका रुपमा विकास गरिने उल्लेख छ । ऊर्जा विकास, कृषि पशुपालन, फलफूल खेती र सिँचाइ, औद्योगिकीकरण, वन तथा वातावरण, स्तरीय भौतिक पूर्वाधार प्रदेश विकासको आधारका रुपमा रहनेछन् ।

प्रधानमन्त्री कपः आर्मी फाइनलमा
विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रदेश नं ५ लाई पराजित गर्दै प्रधानमन्त्री कप एक दिवशीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा नेपालय इन्टरनेशनलको व्यवस्थापनमा जारी उक्त प्रतियोगितामा आर्मीले प्र्रदेश नं ५ लाई १५४ रनको भारी अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो । 

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ओभरमा ८ विकेट गुमाएर २८९ रन बनाएको थियो । २९० रनको लक्ष्य पछ्याएको शक्ति गौचन नेतृत्वको टोली प्रदेश नं ५, ३५ दशमलव ५ ओभरमा १३५ रनमै समेटिएपछि आर्मीको १५४ रनको फराकिलो जित निश्चित भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्