१५ असार २०८३, सोमबार

प्रचण्डलाई भेटेर व्यवसायीले भने- ठूला व्यवसायीका कारण विकास लथालिङ्ग

प्रचण्डलाई भेटेर व्यवसायीले भने- ठूला व्यवसायीका कारण विकास लथालिङ्ग

काठमाडौं, २६ जेठ– नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठेकेदारहरूको एकाधिकार तोडिने बताएका छन् । पुर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले सरकारले व्यावसायीलाई काम गर्ने वातावरण दिनुपर्ने र व्यावसायीले पनि सम्झौताअनुसारको काम गर्नुपर्ने बताए ।

निर्माण व्यवसायीहरूको प्रतिनिधि मण्डलसँग शनिबार पेरिसडाँडामा भएको भेटमा अध्यक्ष प्रचण्डले भने, ‘काम होल्ड गर्ने तर समयमै काम सम्पन्न नगर्ने समस्या छ । हामी समृद्धि र विकासको यात्रामा छौं । ठेक्का लिएर काम सम्पन्न नगर्ने प्रवृत्तिप्रति तपाईहरू पनि सचेत हुनुहोला ।’ 

सरकार नीजि क्षेत्रलाई निरुत्साहित गर्ने पक्षमा नरहेको उनको भनाइ छ । प्रचण्डले भने, ‘साना निर्माण व्यावसायीहरूले काम नपाउने र ठूला व्यावसायीले काम होल्ड गर्दा विकासका काम रोकिएका छन् । हाम्रो उद्देश्य विकास र समृद्धिको यात्रालाई द्रुत गतिमा अघि बढाएर जनताको अपेक्षा पूरा गर्नु हो ।’

विकास, समृद्धि र सुशासन नै आफ्नो सपना भएको प्रचण्डले बताए । उनले भने, ‘अबको युग विकासको युग हो, सुशासनको युग हो, समृद्धिको युग हो । हामीलाई त्यसबाट दायाँबायाँ हुने छुट छैन । बाहिर के प्रचार गरिन्छ, त्यतातिर बिल्कूल हेरेको छैन । मैले धेरैपटक भनिसकेको छु, विकास, समृद्धि, सुशासन नै मेरो लक्ष्य हो, म त्यसमा इमान्दार छु र दृढताका साथ अघि बढ्छु ।’ 

व्यावसायीले सम्झौताअनुसार काम गरे देश बन्ने उनको भनाइ छ । भेटमा व्यावसायीहरूले ठूला ठेकेदारहरूले मेचीदेखि महाकालीसम्म सबै काम होल्ड गरेर राखेको गुनासो गरे । ‘सरकारले साना व्यावसायीलाई मात्र दवाव दिएको छ, ठूला व्यावसायीका कारण देशको विकास लथालिंग छ, त्यतातिर सरकारको ध्यान जाओस्’ एक व्यावसायीले भने । 

लामा कन्ट्रक्सन कम्पनी, रसुवा कन्ट्रक्सन, स्वच्छन्द कन्ट्रक्सन, कालिका कन्ट्रक्सन, तुदी कन्ट्रक्सन र शर्मा कन्ट्रक्सनले देशभरि ठेक्का लिएर काम नगरेको उनीहरूको गुनासो छ । ‘यी ६ वटा कम्पनीले ठेक्का होल्ड गर्ने काम नगर्ने गर्दा देश बर्वाद भयो’ नेपाल राष्ट्रिय निर्माण व्यावसायी संघका बरिष्ठ उपाध्यक्ष नवराज खड्काले भने ।

व्यावसायीहरुले ठूला कम्पनीले काम होल्ड गरेर राख्दा त्यसको अपजस आफूहरूले बेहोर्नुपरेको बताए । 

salt training

कमेन्ट गर्नुहोस्