
बुटवल, २६ जेठ–संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबुपण्डितले राष्ट्रका लागि विशेष योगदान गर्न कर्मचारीहरुलाई आग्रह गरेका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, उच्चस्तरीय प्रशासन सुधार, प्रशासकीय अदालतले बुटवलमा आयोजना गरेको प्रदेश स्तरीय अन्तरक्रियामा बोल्दै मन्त्री पण्डितले कर्मचारीहरुलाई कुनै पनि वहाना नगर्न निर्देशन पनि दिए । उनले योगदान र कार्यसम्पादनका आधारमा मूल्यांकन हुने पनि बताए ।
राष्ट्रसेवक कर्मचारीहरुको असली स्क्यानिङ गरिने भन्दै काम गर्नेलाई सम्मान र नगर्नेलाई दण्ड दिइने बताए । कार्यक्रममा सहभागीहरुले आ–आफ्ना गुनासाहरु राखेका थिए । उनीहरुले राखेका गुनासाको जवाफ दिदै मन्त्री पण्डितले देशको सेवा गर्छु भनेपछि सेवा गर्नै पर्ने बताए ।
आफ्नो मात्रै सुविधा हेर्ने र जिम्मेवारी पूरा नगर्ने कुनै पनि कर्मचारीहरुलाई सोही आधारमा मूल्यांकन गरिने बताए । उनले जिम्मेवारीमा खटिएका कर्मचारीहरुले समय काट्ने मात्रै नभएर आफ्नो विज्ञता प्रदर्शन गर्न पनि जरुरी रहेको आवश्यकता औंल्याए ।
कार्यक्रममा संविधान विज्ञ कासिराज दहाल, प्रदेश सरकारका भौतिक योजना मन्त्री बैजनाथ चौधरी, प्रदेश सरकारका कानुन मन्त्री कुलप्रसाद केसी, प्रमुख सचिव डा. शंकर पाठक, जिसस प्रमुख एकराज विक, बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदी, सैनामैनाका प्रमुख चित्रबहादुर कार्की, सिद्धार्थनगरका हरि अधिकारी, देवहका हिरा केसी, बुटवल उपमहानगरका उपप्रमुख गुमादेवी आचार्य, प्रमुख प्रशासकीय अधिकृत राजनकुमार विसी, कृष्णप्रसाद भण्डारी लगायतले बोलेका थिए ।