०९ असार २०८३, मंगलबार

इंग्ल्यान्डका सबै खेलाडी आफ्नै देशका क्लबबाट खेल्छन्, अरू टीमका खेलाडी विदेशी क्लबमा आबद्ध

इंग्ल्यान्डका सबै खेलाडी आफ्नै देशका क्लबबाट खेल्छन्, अरू टीमका खेलाडी विदेशी क्लबमा आबद्ध

काठमाडौं, २७ जेठ – रुसमा बिहीवारदेखि शुरू हुने फूटबल विश्वकपमा ३२ देशले भाग लिइरहेका छन् । तीमध्ये इंग्ल्यान्ड मात्र यस्तो टीम हो जसका सबै २३ खेलाडी आफ्नो देशका क्लबहरू अर्थात् इंग्लिश प्रिमियर लीगमा खेल्छन् । 
बाँकी ३१ टीमका धेरै खेलाडी विदेशी क्लबमा खेल्छन् । 

सेनेगल र स्विडेन टीमका कुनै पनि फूटबल खेलाडी आफ्नो देशको क्लबमा खेल्दैनन् । स्विट्जरल्यान्ड, आइसल्यान्ड, नाइजेरिया र बेल्जियमको टोलीमा एक खेलाडी मात्र आफ्नो देशको क्लबमा आबद्ध छन् ।

यो विश्वकपमा ३२ देशका ७३६ खेलाडीले भाग लिइरहेका छन् । तीमध्ये कुल २०९ अर्थात् २८ प्रतिशत आफ्नो देशको क्लबबाट खेल्छन् । बाँकी ७२ प्रतिशत विदेशी क्लबबाट खेल्छन् । 

स्वदेशी क्लबबाट खेल्ने धेरै खेलाडीको सूचीमा इंग्ल्यान्डपछि रुसको नाम आउँछ । रुसको टीममा २३ मध्ये २१ खेलाडी आफ्नो देशको क्लबबाट खेल्छन् । 

स्पेन र साउदी अरब पनि रुसनजिकै छन् । साउदीको फूटबल टीमका २० र स्पेनका १९ खेलाडी आआफ्नो देशको क्लबबाट खेल्छन् । 

इंग्ल्यान्डको क्लब म्यानचेस्टर सिटीका सबभन्दा धेरै १६ खेलाडी यसपालि विश्वकपमा खेल्छन् । त्यसपछि स्पेनको रियल मड्रिड क्लबका १५ फूटबलर विश्वकपमा आआफ्नो देशको प्रतिनिधित्व गर्दैछन् । अर्को स्पेनी क्लब बार्सिलोनाका १४ खेलाडीले विश्वकपमा भाग लिइरहेका छन् । 

इटलीको युभेन्टसका ११ खेलाडी विश्वकपमा भाग लिँदैछन् जबकि इटली नै विश्वकपमा छनोट हुन सकेन । 

इंग्ल्यान्ड टीममा कप्तान ह्यारी केन समेत टोटेनह्याम हटस्परका पाँच खेलाडी छन् । त्यसपछि म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेडका चार चारजना खेलाडी छन् ।

एजेन्सी  

salt training

कमेन्ट गर्नुहोस्