
काठमाडौं, २८ जेठ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उन ऐतिहासिक शिखर वार्ताका लागि सिंगापुर पुगेका छन् । उत्तर कोरियाली नेता किम सिंगापुर पुगेको केही घण्टापछि ट्रम्प त्यहाँ पुगेको सञ्चारमाध्यमले जनाएका छन् ।
ट्रम्प र किमबीच मंगलबार सिंगापुरको सेन्तोसा टापुस्थित क्यापिला होटलमा शिखर बैठक हुँदै छ । उक्त बैठक बहालवाला अमेरिकी राष्ट्रपति तथा उत्तर कोरियाली नेताबीचको पहिलो हुनेछ ।
क्यानडामा भएको जी–७ बैठकमा सहभागी भएर अमेरिकी राष्ट्रपति ट्रम्प हवाई सेनाको जहाजबाट सिधै सिंगापुर ओर्लेका हुन् । सिंगापुरका अधिकारीले किम कुन जहाजमा आइरहेका छन् भन्ने यकिन नभएकाले अन्दाज गर्दै बसेको जनाएका थिए ।
उत्तर कोरियाली राजधानी प्योङयाङबाट सिंगापुरतर्फ आइतबार ३ वटा हवाईजहाज आएका थिए ।