करीब एक हप्ताअघि एउटा कार्यक्रममा लप्सीफेदी जाने क्रममा जोरपाटीबाट नै बाटोमा अत्यन्तै जाम परी कार्यक्रममा पुग्न करीब दुई घण्टा नै ढिलो हुन पुग्यो ।
के कारणले त्यति ठूलो जाम भयो भनी बुझ्दा स्वस्थानी व्रतको अन्तिम शनिवार भएको कारणले धर्मावलम्बीहरूको भीडले गर्दा जाम भएको कुरा जानकारीमा आयो । म चढेको गाडी कार्यक्रमका सहभागीहरूले भरिएको थियो । त्यहाँ हामीले स्वस्थानीको बारेमा धेरै छलफल ग–यौं ।
धेरै पुरुष सहभागीहरूले स्वस्थानी किन पढिन्छ जहाँ महिलाहरूलाई यति धेरै अपमान गरिएको छ भनी तर्क राख्नुभएको देख्दा जे होस्, समाज परिवर्तन हुँदैछ अनि पुरुषहरू महिलाको आत्मसम्मानको बारेमा अलिकति भएपनि वकालत गर्न थालेका छन् भन्ने लाग्यो ।
यो पुरुषप्रधान देशमा उल्लेखनीय परिवर्तन नै मान्नुपर्दछ भनी मनमनै सोचें । तर मेरो मनले एउटा प्रश्नको जवाफ भने पाउन सकेको थिएन । एक्काईसांै शताब्दीमा महिला र पुरुषका समानताका कुरा गरेर हिँड्ने महिला पनि किन स्वस्थानीको व्रत बस्छन् ? किन तीजमा निराहार व्रत बस्छन् ? किन पहिलाभन्दा पनि बढी यस्ता पर्वहरू अझ धुमधामका साथ मनाउँछन् ?
यस प्रश्नको जवाफ खोज्न मैले स्वस्थानीको किताब पल्टाउने नै निश्चय गरें किनकि यसको जवाफ यसै किताबभित्र थियो । धेरैपल्ट स्वस्थानीको कथा सुने पनि मैले त्यसमा त्यति ध्यान कहिल्यै दिएकी थिइनँ पहिला ।
स्वस्थानीको ग्रन्थ पढ्ने क्रममा मेरो विश्लेषण के रह्यो भने यो ग्रन्थ वास्तविक स्वस्थानी माताको वर्णन, महिमा वा कथा कहीँ कतै उल्लेख नगरी स्वस्थानीको व्रत बसेपछि कसको जीवनमा के परिवर्तन आयो भन्ने एउटा कथासंग्रह मात्र रहेछ । यसमा उल्लेख गरिएको हिमालयकी पुत्री पार्वती, गोमा ब्राह्मणी, चन्द्रावती लगायतले पाठ गरेको भनिएका स्वस्थानी माताको महिमाको पुस्तक कहीँ कतै अस्तित्वमा भएको जानकारी कसैलाई पनि छैन ।
वास्तविक स्वस्थानी माताको मन्दिर कहाँ छ ? उनले भक्तको रक्षा गर्न के के गरिन् ? उनको के महिमा छ भन्ने कुरा हाल घरघरमा पाठ गरिने स्वस्थानीको कथासंग्रहमा वर्णन गरिएको छैन । तर बढीभन्दा बढी एउटा पितृसत्तात्मक समाजलाई बलियो बनाउन तथा पुरुषलाई अझ शक्तिशाली बनाउन अनि महिलालाई पुरुषप्रति बढी इमान्दार बनाउनका लागि प्रस्तुत गरिएको कथासंग्रह मात्र हो यो ।
लेखिका अनितायो कुरा त्यस पुस्तकमा उल्लेखित ‘महिलाले आफ्नो श्रीमानलाई टेडो आखाले हेरे डेरी हुन्छे, मुख फर्काए लाटी हुन्छे, लुकाएर खाए कुकुर्नी हुन्छे’ भनी महिलाले आफ्ना श्रीमानविरुद्ध गर्न सक्ने नराम्रा व्यवहारमाथि सीमा लगाइएकोबाट थाहा लाग्छ ।
जालन्धर र वृन्दाको कथा मार्फत महिलाको यौनिकता नै पुरुषको शक्ति हो भनी उल्लेख गरी महिलाको यौनिकतामाथि अकुंश लगाइएको पाइन्छ । तर पुरुषले महिलाविरुद्ध गरेको दुर्व्यवहार, बहुविवाह, बालविवाह, जालसाजी तथा बलात्कारलाई भने अपराध हो भनी कहीँ कतै उल्लेख गरिएको छैन ।
उक्त कथासंग्रहमा उल्लेखित घटनाहरूलाई हालको कानूनबमोजिम सजाय गर्ने हो भने शिवजी बहुविवाह, बालविवाह, हत्या तथा बलात्कारमा मतियार लगायत विभिन्न फौजदारी अपराधमा सजाय काट्दै हुने थिए भने विष्णु बलात्कार, जालसाजी, हत्या लगायतका अपराधमा सजाय काट्ने थिए होलान् ।
तर मुख्य प्रश्न भनेको आज पनि महिलाहरू महिलाविरुद्ध तथा महिलाका अधिकारलाई अंकुश लगाउने उद्देश्यबाट प्रेरित भई संकलन गरिएका कथासंग्रहलाई यति धेरै श्रद्धाका साथ किन पाठ गर्दछन् ? यसको जवाफ पाउनस्वस्थानी व्रत बसेका केही महिलासँग कुरा गर्ने अवसर पाएँ मैले ।
उनीहरूको भनाइअनुसार श्रीमानको प्रगति, परिवारमा समृद्धि तथा सुखसम्पत्तिका लागि स्वस्थानी व्रत बस्ने अनि शाली नदीमा नुहाउने उनीहरू बताउँछन् । त्यसका अलावा सबैभन्दा महत्त्वपूर्ण विषय भनेको स्वस्थानीको व्रत तथा तीजको व्रत बस्दा श्रीमानले आफ्नो लागि श्रीमतीले व्रत बसेको भनी खुशी हुने र परिवारमा मायाप्रेम बढ्ने बताउँछन् ।
महिलाहरूको यस्तो कठोर तपस्याको पछाडि रहेको उद्देश्य थाहा पाएपछि कुनै दिन मैले फेसबूकको वालमा पढेको भनाइ (लेख्ने मान्छेको नाम याद छैन) को अनायास नै याद आयो ।
त्यसमा लेखिएको थियो, महिलालाई उनको उमेर नसोध्नू, पुरुषलाई उनको तलब नसोध्नू किनकि महिलाले आफ्नो जीवन परिवारका लागि खर्चेकी हुन्छिन् र पुरुषले पनि परिवारका लागि कमाएका हुन्छन् । यो भनाइ हाम्रो समाजमा चरितार्थ भएको पाएको छु मैले जुन दुर्भाग्य नै मान्छु म ।
नेपालको संविधानले महिलालाई अंश र वंशमा समान अधिकार प्रदान गरेको भनी मौलिक अधिकारको रूपमा व्यवस्था गरेतापनि व्यावहारिक रूपमा महिलाले समान अधिकार नपाएको र आज पनि अधिकांश महिलाहरू पुरुषप्रति आर्थिक, सामाजिक तथा व्यावहारिक रूपमा निर्भर रहनुपरेको र पुरुष आज पनि परिवारको प्रमुख तथा अन्नदाताको रूपमा रहेको हुँदा महिलाहरू आफ्ना श्रीमानलाई खुशी पार्नका लागि स्वस्थानी कथासंग्रह पाठ गर्ने तथा तीजको कठोर व्रत बस्ने गरेको पाइएको छ ।
तर श्रीमानभन्दा पनि अझ आर्थिक, सामाजिक तथा बौद्धिक रूपले सशक्त महिला नै किन नहुन्, महिलालाई खुशी पार्न तथा घरमा सुखसमृद्धि अनि पत्नीको प्रगतिका लागि पुरुषले व्रत बसेको पाइएको छैन ।
अब महिलाले श्रीमानको तथा परिवारको सुखसमृद्धि तथा प्रगतिका लागि स्वस्थानी तथा तीजको कठोर व्रत बसी श्रीमान् तथा परिवारप्रति आफ्नो समर्पण तथा माया साबित गर्नुभन्दा आफूलाई आर्थिक, सामाजिक, राजनीतिक अनि कानूनी रूपमा सशक्त भई श्रीमानसँग सहकार्य गर्नु आजको आवश्यकता हो ।