११ असार २०८३, बिहीबार

सुकुम्वासीलाई घर बनाउने आवास कम्पनी आफैं बेघर : स्थायी भवन माग्दै मन्त्रीसँग गुहार

सुकुम्वासीलाई घर बनाउने आवास कम्पनी आफैं बेघर : स्थायी भवन माग्दै मन्त्रीसँग गुहार

काठमाडौं, २८ जेठ – राष्ट्रिय आवास कम्पनी लिमिटेडले स्थायी भवनको व्यवस्था गरिदिन शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईसँग गुहार गरेको छ ।

कम्पनीको आफ्नै भवन नहुँदा केन्द्रीय कार्यालयका लागि भौंतारिनुपरेकाले स्थायी भवनको व्यवस्था गरिदिन माग गरिएको हो ।

विक्रम सम्वत् २०३० सालमा पुनर्वास कम्पनीका नाममा खुलेको यो संस्थाको नाम ग्रामीण आवास कम्पनी हुँदै हाल राष्ट्रिय आवास कम्पनी राखिएको छ । कम्पनीले सुकुम्वासी र गरीब परिवारका लागि आवास तथा भवन निर्माणको काम गर्ने गरेको छ । तर, कम्पनी आफैंसँग कार्यालय भवन नहुँदा समस्यामा परेको छ ।

राष्ट्रिय आवास कम्पनी लिमिटेडको ११ औं वार्षिक साधारणसभामा मन्त्रीसँग कार्यालय भवन नभएको गुनासो गरिएको छ । उद्घाटन समारोहमा बोल्दै शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले आवास ऐन बनाएर आवासविहीनको व्यवस्थापन गरिने बताए । उनले कम्पनीको नियमावली, कर्मचारी व्यवस्थापन लगायतका समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता पनि जनाए ।

मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले संविधानमा आवासको हक सुरक्षित गरिएकाले कम्पनीले दलितलगायत विपन्न वर्गको आवासका लागि काम गर्ने दायित्व निर्वाह गर्नुपर्ने बताए । कम्पनीलाई संघ वा प्रदेश कुन तहअन्तर्गत राख्ने भन्ने विषयमा मन्त्रालयले गृहकार्य गर्ने वचन उनले दिए । कार्यक्रममा सांसद दिलकुमारी, कम्पनी सञ्चालक समितिका अध्यक्ष मोहन चौधरी, सञ्चालक समिति सदस्य मीरा ज्ञवाली, महाप्रबन्धक दूतबहादुर गुरुङलगायतले कम्पनीमा कर्मचारी व्यवस्थापन हुन नसक्दा काममा प्रभाव परेकाले समस्या समाधानका लागि मन्त्री राईसमक्ष अनुरोध गरे । 

कम्पनीको २० वर्षे कार्ययोजना तयार भएपनि जनशक्ति व्यवस्थापन हुन नसक्दा कार्यान्वयन गर्न नसकिएकाले छिटो समस्या समाधान गरिदिन उनले आग्रह गरेका थिए । 

सो अवसरमा सफलतापूर्वक विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका कम्पनीका कर्मचारी सुशील शेर्मालाई सम्मान गरिएको थियो । कम्पनीले ३ योजना कार्यालयमार्फत् व्यवस्थित आवासका लागि काम गरिरहेको जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्