
मरे भनेर अन्तिम संस्कारको तयारी गरेको मानिस उठे के हुन्छ ? यस्तै घटना सार्वजनिक भएको छ चीनमा ।
चीनको सिचुवान प्रान्तको जुनलियानमा मरे भनेर कफिनमा राखिएका व्यक्ति उठेपछि हंगामा भएको छ ।
स्वास्व बन्द भएको र हातगोडासमेत चिसो भएपछि ७५ वर्षिय वृद्धलाई उनका छोरा र आफन्तले मृत घोषित गरेका थिए । तर कफिनमा राखेर अन्तिम संस्कार भइरहेका बेला वृद्ध एक्कासी हलचल गर्न थाले ।
जब कफिनको बिर्को खोलियो वृद्धले जुरुक्क उठेर सोधे, ‘यहाँ के भइरहेको छ हँ ? के मलाई गाड्ने तयारी गरिरहेका छौ ?’ त्यतिबेला भेला भएका मानिसहरु सबै छक्क परे ।
अन्तिम संस्कार सुरु भएको आठ घन्टापछि वृद्ध उठेका हुन् । उनलाई श्रद्धान्जली दिन थुप्रै मानिसहरु घरमा जम्मा भएका थिए ।
वृद्ध उठेपछि उनका छोराछोरीले हतार हतार कफिनबाट निकालेर ओछ्यानमा सुताएका थिए । उनीहरुले आफूहरुले गरेको गल्तिका लागि वृद्धसँग क्षमा मागे ।
बिरामी अवस्थामा रहेका वृद्ध एकदमै थकित र कमजोर बनेका थिए । कमजोरिका कारण यस्तो अवस्था आएको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् ।