
रामेछाप, ३१ जेठ– रामेछापको सदरमुकाम मन्थलीमा प्रहरी र स्थानीय व्यवसायीबीच झडप भएको छ । बीपी राजमार्गमा ढुवानीका साधन बन्द गरिएको विरोधमा आन्दोलनमा उत्रिएका व्यवसायी र प्रहरीबीच झडप भएको हो ।
बुधबारराति भएको झडपको क्रममा प्रहरीले लाठीचार्ज गर्दा समाचार संकलनमा गएका पत्रकारसहित ४ जना घाइते भएका छन् । प्रहरीले सिन्धुलीका व्यवसायीहरुसँग मिलेमतो गरी दोलखा जाने ठूला ढुवानीका साधनलाई राति छाडेको भन्दै तिनीहरुलाई रोक्न राति मन्थलीका व्यवसायीहरु भैसेसुरमा भेला भएका थिए ।
सो स्थानमा राति ९ बजेसम्म २० वटाभन्दा बढी मालबाहक सवारी साधन रोकिएपछि प्रहरीले गन्तव्यमा पठाउन खोज्दा झडप भएको थियो ।
बीपी राजमार्गमा १० टन माथिका मालबाहक र १८ सिट माथिका सवारी साधन तत्कालको लागि सञ्चालन नगर्न सर्वोच्च अदालतले परमादेश जारी गरेपछि गएको जेठ २५ गतेदेखि सिन्धुली प्रशासनले बीपीमार्ग हुँदै रामेछाप छिर्ने यातायातका साधन सञ्चालनमा रोक लगाएको छ ।